जलवायु कार्यमा स्वास्थ्यलाई केन्द्रमा राख्न स्टिलको जोड

अन्ताल्या (टर्किए), २४ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्न आग्रह गर्नुभएको छ।

टर्किको अन्ताल्यामा जारी कोप–३१ अन्तर्गत स्वास्थ्यसम्बन्धी मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै स्टिलले जलवायु परिवर्तनको असर स्वास्थ्य प्रणाली र मानव जीवनसँग प्रत्यक्ष जोडिएको बताउनुभयो। अत्यधिक गर्मीले अस्पताल प्रभावित हुनु, विद्युत् अवरुद्ध हुँदा औषधि भण्डारणमा समस्या आउनु, बाढीले खानेपानी दूषित हुनु तथा प्राकृतिक विपद्का कारण गर्भवती महिलाले स्वास्थ्य सेवा लिन कठिनाइ भोग्नु जलवायु सङ्कटका प्रत्यक्ष प्रभाव रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले जलवायु उत्थानशील स्वास्थ्य पूर्वाधार निर्माण गर्दै जोखिममा रहेका समुदायमा जलवायुजन्य रोग र मृत्युदर घटाउने विषयलाई राष्ट्रिय अनुकूलन योजनाको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। राष्ट्रिय योजना निर्माणको सुरुदेखि नै स्वास्थ्य मन्त्रालयको सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।

स्टिलले स्वच्छ ऊर्जा, सुरक्षित खानेपानी, प्रभावकारी रोग निगरानी तथा पूर्वसूचना प्रणालीसहितको स्वास्थ्य प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, जलवायु अनुकूलनका लागि वित्तीय स्रोत बढाउँदै जलवायु परिवर्तनको बढी असर भोगिरहेका विकासशील देशलाई प्राथमिकताका आधारमा स्रोत उपलब्ध गराउनुपर्ने बताउनुभयो।

जलवायु अनुकूलनसँगै जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको न्यायोचित र तीव्र सङ्क्रमण आवश्यक रहेको उल्लेख गर्दै उहाँले नवीकरणीय ऊर्जाको उत्पादन बढाउन र ऊर्जा दक्षता सुधार गर्न आग्रह गर्नुभयो।

स्टिलले अन्ताल्यामा अघि सारिएको ‘हेल्थ एक्सेलेरेटर इनिसिएटिभ’ले जलवायु योजनाका प्रतिबद्धतालाई बिरामी र समुदायको वास्तविक सुरक्षासँग जोड्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोप–३१ का प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्दै जलवायु नीतिलाई नागरिकको स्वास्थ्य र जीवन सुरक्षासँग जोड्न आह्वान गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *