अमेरिकी संसद्मा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो
वासिङ्टन । अमेरिकी रक्षा सचिव पिट हेगसेथविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयासलाई अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले रोकेका छन्। इरानविरुद्धको युद्धमा आवश्यक संसदीय स्वीकृति नलिई भूमिका खेलेको आरोपमा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास गरिएको थियो।
मंगलबार भएको प्रक्रियागत मतदानमा महाभियोगका आरोपहरूलाई रिपब्लिकन नेतृत्वको प्रतिनिधिसभाको न्यायिक समितिमा पठाउने पक्षमा २११ मत परेको थियो भने विपक्षमा २०४ मत परेको थियो। रिपब्लिकन सांसद थोमस मेसीबाहेक अन्य सबै रिपब्लिकन सांसदले प्रस्तावको विपक्षमा मतदान गरे।
मेसीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाएका थिए। प्रस्तावमा डेमोक्र्याटिक सांसदहरूको समेत समर्थन रहेको थियो। यसले इरान युद्धप्रति असन्तुष्ट देखिएका रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनबाट दूरी बनाउने सम्भावनाबारे पनि चासो बढाएको थियो।
तर मंगलबारको मतदानपछि महाभियोग प्रक्रिया तत्काल अघि बढ्ने सम्भावना कमजोर बनेको छ। रिपब्लिकन नेतृत्वले प्रक्रियालाई लामो समयसम्म अल्झाउन सक्ने र हेगसेथविरुद्धका आठवटा महाभियोग आरोपमा प्रत्यक्ष मतदान हुन नदिने बाटो खुलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानपछि सामाजिक सञ्जालमार्फत महाभियोग प्रयास असफल भएको भन्दै हेगसेथको बचाउ गरेका छन्। उनले मेसीबाहेक सबै रिपब्लिकन सांसदले हेगसेथको पक्षमा मतदान गरेको बताएका छन्।
मेसीको प्रस्तावमा हेगसेथले अमेरिकी संसद्को स्वीकृतिबिना इरानविरुद्ध गैरकानुनी युद्ध सुरु गरेको आरोप लगाइएको थियो। त्यस्तै, लागुऔषध तस्करीमा संलग्न भएको आरोप लागेका पानीजहाजमाथि अमेरिकी सेनाले गरेको कारबाहीलाई लिएर पनि प्रश्न उठाइएको थियो।
हेगसेथले महाभियोग प्रस्तावलाई ‘तोडफोड’ र ‘तमासा’ भन्दै अस्वीकार गरेका छन्। ट्रम्पसहित उनको प्रशासनका वरिष्ठ अधिकारीहरूले पनि हेगसेथप्रति निरन्तर समर्थन जनाएका छन्।
यसैबीच, मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेपछि हेगसेथको राजनीतिक भविष्यबारे अड्कलबाजी बढेको छ। इरान युद्धका कारण पेट्रोल र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै मतदातामा असन्तुष्टि देखिएको बताइएको छ।
रिपब्लिकन सिनेटर जोनी अर्न्स्टले मंगलबार हेगसेथको युद्धसम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उनी सत्य बोलिरहेका छन् कि छैनन् भन्ने विषयमा शंका व्यक्त गरेकी छन्।
महाभियोग प्रस्ताव प्रतिनिधिसभाबाट अघि बढे पनि सिनेटबाट दोषी ठहर गर्न दुईतिहाइ मत आवश्यक पर्छ। रिपब्लिकन पार्टीको सिनेटमा ५३ सदस्य रहेकाले हेगसेथलाई पदबाट हटाउने सम्भावना तत्काल कमजोर देखिएको छ।
