तेल ट्याङ्कर डुब्दा चालक दलका छ सदस्य बेपत्ता

काठमाडौँ, कार्तिक २६ । थाइल्याण्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् ।

रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबेको सूचना प्राप्त भएपछि बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य तत्काल सुरु गरिएको हो ।

नौसेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा तेल चुहावटबाट हुन सक्ने असर नियन्त्रणका लागि समुद्री विभागसँग समन्वय भइरहेको जनाएको छ । घटनास्थलनजिक रहेका अन्य जलयानलाई सुरक्षित रूपमा आवतजावत गर्न सचेत गराइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

नौसेनाले बेपत्ता चालक दलका सदस्यको खोजी तथा उद्धारका लागि आवश्यक सबै तयारी गरिएको जनाएको छ । साथै, समुद्री वातावरणमा पर्न सक्ने प्रतिकूल असरको निरन्तर निगरानी भइरहेको र त्यसलाई रोक्न आवश्यक कदम चालिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *