पर्यटकीय गन्तव्य बन्दै बाग्मतीको भरत ताल

सर्लाही, ९ फागुन । सर्लाहीको बाग्मती नगरपालिकामा निर्माणाधिन भरत ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ ।

मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रु ९८ करोड खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो ।

बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै रु एक अर्ब लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।

बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जङ्गल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटल निर्माण भइरहेको बाग्मती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

“भरत ताललाई बाग्मती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाउँदै छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ”, उहाँले भन्नुभयो । नगरको बजेट, सङ्घ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर तालको काम पूरा गर्ने नगरप्रमुख थापाले बताउनुभयो ।

“तालको काम २० देखि २५ प्रतिशतसम्म मात्र भएको छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीति बनाएका छौँ”, उहाँले भन्नुभयो । तालमा माछा र हाँसपालन थालिएको छ । यसबाट आम्दानी बढाउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ  ।

ताल रहेको एक सय २१ बिघामा बहुउद्देश्यीय परियोजना सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो । यहाँ विशेषगरी आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन् ।

वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्ने गरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ । तालमा अहिले दैनिक पाँच सयजनाले रोजगारी पाएका छन् । तालमा अहिले साना ठूला गरेर करिब ४० डुङ्गा सञ्चालनमा छन् ।