स्वस्थ मुटु नै हाम्रो जीवन हो भन्ने सधैँ ख्याल राखौँः डाक्टर स्मृति शाक्य, कार्डियोलोजिष्ट (भिडियो अन्तर्वार्ता)

सरल भाषामा भन्दा मुटुरोग भनेको के–हो ?

मुटुरोग भन्यो भने अहिले जनमानसमा हृदयघात नै भनेर केन्द्रित हुन्छौँ । तर, मुटुरोग भनेको मुटुको रक्तनलीसँग मात्रै सम्बन्धित रोग होइन । मुटुको धमनीमा रगत जम्ने र मुटुकै रक्तसञ्चारमा समस्या आउने रोग जसलाई हामी सरल भाषामा ‘हर्ट एटेक’ भनेर चिन्छाँै ।

मुटुका अन्य रोग पनि हुन्छन् । जस्तै मुटुको वाथ हुन्छ । हाम्रो जस्तो मुलुकमा मुटुको वाथरोग धेरै छ । अर्को भनेको जन्मजात नै हुने मुटुको राग पनि हुन्छ । मुटुमा प्वाल हुने, मुटुको बनावटमा समस्या हुने जस्ता रोग पनि मुटुरोगसँग नै सम्बन्धित छन् । त्यसैगरी मुुटुको धड्कन छिटो चल्ने वा ढिलो चल्नेसम्बन्धि रोग पनि हुन्छ ।

मुटुरोग हुन्छचाँहि कसरी ?

यसका पनि विभिन्न प्रकार हुन्छन् । मैले अघि पनि भने एउटा भनेको जन्मजात नै हुने मुटुरोग हो । यो रोग बढी उमेरमा बच्चा जन्माउँदा, गर्भावस्थामा आमाले औषधी सेवन गर्दा पनि लाग्न सक्छ । कसैलाई मुटुरोग वंशानुगत हुन्छ । अघि नै मैले भने मुटुको वाथरोग पनि हुन्छ । यसरी हेर्दा मुटुरोग मुख्य गरेर परिवर्तन गर्न सकिने र नसकिने गरी दुई खालको हुन्छ । बढ्दो उमेर, वंशानुगत जस्ता मुटुरोग परिवर्तन गर्न नसकिने मुुटुरोग हुन् ।

जीवनशैलीमा परिवर्तन गरेर, धूमपान, मद्यपान नगरेर, नियमित व्ययाम गरेर, स्वस्थ खानेकुराको सेवन गरेर पनि मुटुरोगलाई नियन्त्रणमा राख्न सकिन्छ । पछिल्लो समय हाम्रो खानपान र जीवनशैली पश्चिमा संस्कृतिबाट प्रभावित भएको छ । हामी व्ययाममा पनि अल्छी भएका छौँ । प्याक गरेको खानेकुरा, ड्राइफुड र जंकफुडले पनि हामीलाई असर गरेको हुन्छ । यस्ता खानेकुरामा खानका लागि सजिलो भए पनि त्यसमा चिल्लो र नुनको मात्रा बढी हुने भएकाले हामीलाई असर गरेको हुन्छ ।

त्यसैले हामीले घरमा बनाउने सामान्य खानेकुरा, सागसब्जी, फलफूलमा ध्यान दिनुपर्छ । तर, हाम्रोमा ठिक उल्टा भएको छ । विषादी प्रयोग भएका खानेकुराले पनि हामीलाई असर गरिरहेको हुन्छ । यी सबै कारणले मानिसमा डाइविटिज देखिने, उच्चरक्तचाप, कोलस्टोर बढी हुने जस्ता समस्या आउँछन् । यी सबैले गर्दा मुटुरोगको जोखिम बढाउँछ ।

मानसिक तनाव बढी भयो भने पनि मुटुरोगको जोखिम बढ्छ भन्ने पनि छ नि ?

निन्द्राको कमी, हामी जुन हिसावले काम गरिरहेका हुन्छौँ र काम गर्ने सन्दर्भमा बढी चिन्ता लिइरहेका हुन्छौँ । त्यसले उच्चरक्तचाप बढाउँछ, डाइविटिज देखाउँछ र मुटुका रक्तनलीहरुमा समेत समस्या बढ्ने हुन्छ । जसका कारण मुटुरोगको जोखिम बढाउँछ ।

हृदयघात र पक्षघातको फरक के–हो ?

हृदयघात र पक्षघात दुबैलाई एकै ठाउँमा राखिन्छ । किनभने यी दुबैको कारण लगभग एकैखाले छ । जुन चिजले गर्दा हृदयघात हुन्छ । त्यहि चिजले गर्दा पक्षघात हुने हो । यसको प्रक्रिया पनि उस्तै हुने हो । यी दुबैका कारण भनेको धूमपान, मद्यपान सेवन, नियमित व्ययामको अभाव, अस्वस्थ खानेकुराको सेवन नै हो ।

जसका कारण डाइविटिज देखिने, उच्चरक्तचाप हुने कोलस्टोर बढ्ने हुन्छ । मुटुले सबैतिर रगतको सञ्चार गर्ने काम गर्छ । मुटुले काम गर्नका लागि मुटुलाई पनि रगत चाहिन्छ । मुटुका लागि छुट्टै रक्तनली हुन्छ । त्यहाँ बोसोको मात्रा बढ्दै गयो भने नशा साँघुरो हुँदैजान्छ र रक्तसञ्चार हुन सक्दैन । त्यो भएपछि अक्सिजनको कमी हुने, छाती दुख्ने जस्तो समस्या देख्निछ । त्यो भनेकै हृदयघात हो । यस्तै प्रक्रिया अन्र्तरगत मस्तिष्कमा जाने नशाहरुमा हुन्छ । ती नलीहरु बन्द भने ब्रेनले काम गर्दैन र पक्षघात हुन्छ । पक्षघात भएपछि मानिसको एकातिरको भागले काम गर्न छाड्छ । यी दुईको अन्तर भनेको यसले कहाँ प्रभाव पार्छ भन्ने मात्रै हो ।

पक्षघात रक्तनलीको साँघुरोपनाले मात्रै होइन कहिलेकाँही त्यो फुटेर पनि हुन्छ । त्यसलाई ब्रेन ह्यामरेज भनेर बुझ्छौँ । त्यो उच्चरक्तचापका बिरामीमा बढी यो जोखिम हुन्छ । पक्षघात हुँदा अचानक शरीरको एक भाग नचल्ने अथवा कम चल्ने गर्छ, यो सँगै मुख बाङ्गिने, बेहोस् हुने, बोली लरबराउने वा हिँड्दा शरीरको गतिविधिमा असन्तुलन हुने गर्दछ ।

यो रोगका लक्षणहरु के–के हुन सक्छन् ?

मुटुरोगका केही लक्षणहरु हुन्छन् । हृदयघात हुँदा बिरामीलाई अचानक छातीको बीचको भागमा दुख्ने, भारी भएको महसुस हुने र बढीजसो बायाँ हात र घाँटीतिर सर्नेजस्ता लक्षण देखिन सक्छ । दुखाई पेटमा तर नाइटोमाथिसम्म फैलिन सक्ने हुन्छ । त्यो हुँदा बिरामीलाई वाक्वाकी लाग्ने, मुुटु ढुकढुक गर्ने, स्याँस्याँ हुने, पसिना चिटचिट आउनेजस्ता अनुभव विरामीले गर्छ । त्यो अचानक भयो भने हृदयघात हुन्छ । त्यो भयो भने हृदयघात हो भनेर अस्पताल गैहाल्नुपर्छ । कतिपय अवस्थामा यसको लक्षण पहिले नै देखिन सक्छ । यो केही समय लाग्छ । जस्तो हिँड्दाखेरी छाती भारी हुने तर एकछिन आराम गरेपछि हराउने गर्छ ।

यो रोगबाट बच्ने उपाए के–के हुनसक्छ ?

पहिला वृद्ध अवस्थामा मात्रै हृदयघात हुन्छ भन्ने मान्यता थियो । पछिल्लो समय युवा अवस्थामा नै मुटुसम्बन्धि रोग लागेको हामीले देखेका, सुनेका छौँ । त्यो भनेको अब हामीले युवा अवस्थमा पनि ध्यान दिनुपर्छ है भनेको हो । हामीले त्यसबाट बच्न रक्तचाप, कोलस्टोर, डाइविटिज जस्ता कुरालाई लक्षण देखिनु अघि नै नियन्त्रणमा राख्न समय–समयमा चेकजाँच गर्नुपर्छ ।