आज होलिकालाई दहन गरिएको दिन होली पर्व

आज होली पर्व : रङ्ग र पानीसँग खेलिने उल्लासको पर्व

काठमाडौं, २२ फागुन । आज रङ्ग र पानीसँग खेल्ने होली पर्व । जाडो महिना सकिएर बर्खा शुरु भएसँगै मनाइने पर्व भएकोले यसमा एकले अर्कोलाई पानीले छ्यापेर र रंग दलेर रमाइलो गर्ने गरिन्छ ।

काठमाडौंमा होली पर्व आठ दिनसम्म चल्ने परम्परा छ । गत अष्टमिका दिन बसन्तपुरमा चीर ठड्याई होलीको संकेत दिइसके पछि यो पर्व आज पूर्णिमासम्म चल्ने गरिन्छ । आज होली पर्वको मुख्य दिन भएकोले विशेष रूपमा मनाउने गरिन्छ ।

आज बिहानैदेखि चोक चोकमा वा घर कम्पाउण्ड भित्र एक आपसमा रङ्ग र पानी छ्यापेर होली खेल्ने गरिन्छ । होली पर्वमा खास गरी अनुहारभरि अबिर दलेर खेल्ने चलन छ ।

काठमाडौंमा होली खेल्दा होलीकै गीत पनि गाउने चलन छ । यहाँ गाइने गीतको बोल यस्तो छः
अबिरया होली तं चाया ला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दयेका बी
(अबिरको होली रिसायौ कि मैंया
अबिरले तिम्रो मुहार हिसि पारिदिउँ)

होली पर्व विशेष गरी केटाकेटी बीच रमाइलो गरी खेल्ने भएकोले यो गीतमा पनि केटा र केटी बीचको संवादलाई नै प्रस्तुत गरिएको छ ।
काठमाडौंमा होली पर्व मनाउने शैली पनि क्रमशः परिवर्तन हुँदै आइरहेको देखिन्छ ।

आजभन्दा ७० वर्ष जति अघि होली खेल्दा केटाले केटीलाई अबिर भरिएको लाहाको बेलुनले हान्ने चलन थियो । शरीरमा लाग्ने बित्तिकै लाहा प्याट्ट फुटेर त्यस भित्रको अबिरले पूरै शरीर रंगाइदिने गथ्र्यो । कसै कसैले त्यस्तो अबिरमा केही मात्रा बास्नादार अत्तर पनि राख्ने गर्थे जसले गर्दा अबिरको सँगसँगै बास्ना पनि आउने गर्थ्यो ।

पछि यो चलन बिस्तारै हराउँदै गयो र त्यसको ठाउँमा रबरको बेलुनले लिन थाल्यो जसमा अबिरको ठाउँमा पानी भरिएको हुन्थ्यो । त्यस्तो पानी भरिएको बेलुनले बाटो हिँड्ने महिलाहरूलाई हानेर हैरान गर्ने चलन पनि आएको थियो ।

साथै होलीको आठ दिनसम्मै सँगसँगै रहेका दुई छिमेकी टोलका केटाहरू समूह बनाई एक आपसमा पानी र रङ्गले आक्रमण गरी युद्ध गरे सरह होली खेल्ने पनि आएको थियो ।

यस्तो झैंझगडा हुने र महिलालाई अपमानित गर्ने खालका चलनहरूलाई पछि प्रहरी नै लगाइ नियन्त्रण गरियो ।
अहिले भने होली पर्व अत्यन्त सांगीतिक हुन थालेको पाइन्छ । चोक चोकमा मञ्च नै बनाई सांगीतिक कार्यक्रम आयोजना गरी होलीलाई नयाँ स्वरुपमा मनाउन थालिएको छ ।

गत अष्टमिका दिन बसन्तपुरमा उठाइएको चीरलाई आज बेलुकी ढालेर टुँडिखेलमा दहन गरिसके पछि होली पर्व विधिवत रुपमा समापन भएको मानिन्छ ।

अचेल टुँडिखेलमा चीर दहन गर्ने बेला मारवाडी समुदायको नयाँ खालको मेला गर्ने गरेको पाइन्छ । टुँडिखेलमा चीर दहन गर्दा यही वर्ष विवाह गरेका मारवाडी समुदायका नव दम्पत्तिहरू पुगेका हुन्छ । चीर दहनको आगो ताप्दा राम्रो सन्तान जन्म हुने विश्वास मारवाडी समुदायमा रहेको पाइन्छ ।

दहन पछि बाँकी रहेको गोल (कोइला) पनि मारवाडी समुदायले स्टिलको बाल्टिन वा कचौरामा राखेर लाने गर्दछन् । पछि उक्त कोइलाकै टीका बनाई लगाउने गरिन्छ ।

चीर दहनलाई मारवाडीहरू हिरण्यकश्यपुकी बहनी होलिका दहनकै प्रतीकका रूपमा लिने गर्दछन् । बिष्णु पुराण अनुसार भक्त प्रल्हाद भगवान बिष्णुका ठूला सेवक थिए । उनका बुबा हिरण्यकश्यपु भने बिष्णुका विरोधी रहेछन् । हिरण्यकश्यपुले छोरा प्रल्हादलाई बिष्णुको नाम लिन बन्द गर भनेर कति भन्दा पनि नमाने पछि एक दिन छोराको हत्या गर्ने बिचार गर्छन् ।

यसको लागि उनले आफ्नी बहिनी होलिकालाई प्रयोग गर्छन् । होलिकाको विशेषता के थियो भने उनलाई आगोले छुन नसक्ने रहेछ । त्यसैले भक्त प्रल्हादलाई होलिकाको काखमा राखेर आगो लगाइदियो भने जलेर मृत्यु हुने ठानेर होलिकाको काखमा राखेर आगो लगाइदिन्छ ।

तर नतिजा भने त्यसको उल्टो हुन्छ । आगोले प्रल्हादलाई छुँदैन तर होलिकालाई भने दहन गरेर खरानी पारिदिन्छ । त्यही होलिकालाई दहन गरिएको दिनमा खुशियाली मनाउन होली पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

काठमाडौंमा दहन गरिने चीरलाई मारवाडी समुदायले होलिका दहनकै रूपमा लिई त्यसको टीका लगाउने गरिएको मानिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको जानकारी अनुसार आज राति २९ः४५ बजे (भोलि बिहान ५ः४५ तिर) को साइतमा चीर ढालिनेछ ।