राष्ट्रपति निर्वाचन आज, आजै मतपरिणाम घाेषणा हुने

काठमाडौं, २५ फागुन। आगामी नयाँ तथा तेस्राे राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । मतदान नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा हुँदैछ ।
मतदानस्थलमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने जनाइएकाे छ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मत भार ७९ र प्रदेशसभा सदस्यको मत भार ४८ छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।