स्पेसएक्सको विशाल रकेट ‘स्टारशिप’ पहिलो पटक सफल रूपमा अन्तरिक्षको कक्ष (अर्बिट) मा प्रवेश
पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको १२४ मिटर (४०७ फिट) अग्लो यो रकेटले अन्तरिक्ष यात्राको लागत उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ ले पहिलो पटक सफलतापूर्वक पृथ्वीको कक्ष (अर्बिट) मा पुगेर नयाँ इतिहास रचेको छ। अमेरिकी राज्य टेक्ससस्थित प्रक्षेपण केन्द्रबाट सोमबार उडान भरेको यो मानवविहीन रकेटले अन्तरिक्ष प्रविधिको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको हो।
उडानको सुरुवाती चरणमा एउटा इन्जिन निर्धारित समयभन्दा अगावै बन्द भएपछि केही मिनेट तनाव उत्पन्न भएको थियो। तर, अन्य संयन्त्रहरूले राम्रोसँग काम गरेपछि र बन्द भएको इन्जिनको थप आवश्यकता नपरेपछि मिसन कन्ट्रोलले उडानलाई निरन्तरता दिने निर्णय लिएको थियो। “स्टारशिप अब अर्बिटमा पुगेको छ,” प्रत्यक्ष प्रसारणका क्रममा मिसन कन्ट्रोलले घोषणा गर्दा उत्साह छाएको थियो।
संस्थापक इलोन मस्कको यो ड्रिम प्रोजेक्टले आफ्नो १४ औँ पूर्ण-स्तरीय परीक्षण उडानका क्रममा २६ वटा अत्याधुनिक ‘स्टारलिङ्क’ इन्टरनेट उपग्रहहरू पनि अन्तरिक्षमा लगेको छ। यसअघिका उडानहरू हिन्द महासागर क्षेत्रमा खस्ने वा वायुमण्डलमै नष्ट हुने गरेका थिए। तर यस पटक भने रकेटलाई पृथ्वीको सतहभन्दा २७५ किलोमिटर माथि पुर्याएर झन्डै १० घण्टामा ६ पटक पृथ्वीको परिक्रमा गराउने र अन्त्यमा चिली नजिकैको प्रशान्त महासागरमा अवतरण गराउने लक्ष्य राखिएको छ।
स्पेसएक्सका अनुसार रकेटको पहिलो चरणको ‘बुस्टर’ लाई यस पटक टेक्ससस्थित प्रक्षेपण स्थलमा फिर्ता नल्याई मेक्सिकोको खाडीमा खसालिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका उपाय अपनाइएको मस्कले बताएका छन्। “अन्तरिक्षयान जमिनमा खसेर क्षति पुगेमा कम्पनीको साख गुम्न सक्छ, त्यसैले हामी निकै सतर्क छौँ,” मस्कले भने।
यस सफलतासँगै स्पेसएक्सले आगामी उडानमा रकेटलाई पुनः प्रक्षेपण स्थलमै यान्त्रिक हात (मेकानिकल आर्म्स) को सहायताले हावामै समात्ने (क्याच गर्ने) योजना बनाएको छ। सबै कुरा योजनाअनुसार अघि बढेमा चालु वर्षको अन्त्य वा आगामी वर्षको सुरुमा यस रकेटलाई पुनः प्रयोग गरी उडान भरिनेछ। पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको १२४ मिटर (४०७ फिट) अग्लो यो रकेटले अन्तरिक्ष यात्राको लागत उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
नासाको बहुप्रतीक्षित ‘आर्टमिस’ मुन मिसनका लागि पनि स्टारशिपको यो सफलता अत्यावश्यक मानिएको छ। नासाले चन्द्रमा र मंगल ग्रहमा मानव पठाउने टोलीका लागि स्टारशिपलाई प्रमाणीकरण गर्ने प्रक्रिया तीव्र पारेको छ। इलोन मस्कले सुरुमा मंगल ग्रहमा मानव बस्ती बसाल्ने उद्देश्यले स्टारशिपको परिकल्पना गरेका थिए। तर, तत्कालका लागि भने कम्पनीले चन्द्रमा मिसन र ठूलो संख्यामा उपग्रहहरू अन्तरिक्षमा पठाउन यसको प्रयोग गर्नेछ।
कम्पनीले आगामी केही वर्षभित्र आफ्नै पुरानो ‘फाल्कन ९’ रकेटलाई विस्थापित गरी पूर्ण रूपमा स्टारशिप प्रयोगमा ल्याउने रणनीति बनाएको छ। यसका लागि फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा दोस्रो र लुइसियानामा तेस्रो प्रक्षेपण स्थल निर्माण भइरहेको छ।
