हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरक्षाकर्मी परिचालन
सुर्खेत, १३ असोज । हुम्लामा हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडक खुलाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण सडकका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको थियो । हिमपात रोकिएपछि सडकमा जमेको हिउँ हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सुरक्षाकर्मी परिचालन गरी सडकमा जमेको हिउँ हटाउने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काले हिमपात रोकिएपछि सडक खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
सिमकोट–हिल्सा सडक उत्तरी हुम्लालाई जिल्ला सदरमुकाम सिमकोटसँग जोड्ने प्रमुख सडक हो । सडक अवरुद्ध हुँदा उत्तरी हुम्लाका स्थानीयवासी तथा यात्रुको आवतजावत प्रभावित भएको छ ।
