पहिरोले लामाबगरमा चार घर र दुई गोठ पुरिए, एक जना घाइते
पर्वतको जलजला लामाबगर
काठमाडौँ, असोज १३ । पर्वतको जलजला गाउँपालिका ७ लामाबगरमा आज पहिरो जाँदा चार घर र दुई गोठ पुरिएका छन् । पहिरोमा परी एक जना घाइते भएका छन् ।
पहिरोमा च्यापिएका ६५ वर्षीय आत्मराज शर्मालाई सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरी म्याग्दी प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि पठाएका छन् । उहाँको अवस्था सुधारोन्मुख रहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।
पहिरोले चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यका घर तथा सँगै रहेका दुई गोठ पुरिएका छन् । घरमा रहेका खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्रीसमेत पहिरोमा पुरिएका छन् । गोठमा रहेका दुई भैँसी र पाठापाडीसमेत पहिरोमा पुरिएका छन् ।
अध्यक्ष आचार्यका अनुसार मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा धाँजा फाटेको सूचना आएपछि जोखिममा रहेका स्थानीयवासीलाई यसअघि नै अन्यत्र सारिएको थियो । घरमै रहेका शर्मालाई पहिरोले पुरेपछि उद्धार गरिएको हो । पहिरोका कारण करिब १२ रोपनी खेतीयोग्य जमिन पुरिएको छ ।
स्थानीयवासी रमेश शर्माका अनुसार आत्मराजले गुहार मागिरहेको अवस्थामा रुखले च्यापेको अवस्थामा उद्धार गरिएको थियो । पहिरोका कारण विस्थापित परिवारलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगरका खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ । नदी कटानका कारण थप खेतीयोग्य जमिन जोखिममा परेको छ ।
बाढीपहिरोका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको मालढुङ्गा–बेनी खण्ड अवरुद्ध भएको छ । केराबारीको पहिरो पन्छाउने काम भइरहेको र बुधबारदेखि लामाबगरको पहिरो हटाउन डोजर परिचालन गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।
पछिल्लो चार दिनको वर्षाका कारण जलजला गाउँपालिकाका नौवटै वडामा भौतिक क्षति पुगेको छ । गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीले ६८ घर बगाएको छ भने लामाखेतमा २५ घर डुबानमा परेका छन् । धाइरिङमा २५ घर विस्थापित भएका छन् भने खानीगाउँका केही घरसमेत जोखिममा रहेका छन् ।
बाढी, पहिरो र नदी कटानका कारण असुरक्षित बनेका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा सम्बन्धित निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न मंगलबारदेखि जनप्रतिनिधि र कर्मचारीलाई टोलटोलमा परिचालन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
निजी तथा सामुदायिक स्वास्थ्य संस्थासमेत समेटेर खोपको सूक्ष्म योजना बनाउँदै काठमाडौँ महानगर
मध्यपहाडी लोकमार्ग अन्तर्गत मालढुङ्गाको पुल भत्किएपछि बिरामीदेखि यात्रुसम्मलाई सास्ती
