मध्यपहाडी लोकमार्ग अन्तर्गत मालढुङ्गाको पुल भत्किएपछि बिरामीदेखि यात्रुसम्मलाई सास्ती
कास्की, १३ असोज । बाढीपहिरो र नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा बिरामीदेखि सर्वसाधारण यात्रुसम्मले सास्ती खेप्नुपरेको छ । बागलुङ–पर्वत जोड्ने मालढुङ्गाको पुल भत्किएपछि यात्रुहरू वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्य पुग्न बाध्य भएका छन् ।
बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकी नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुग्नुपर्ने थियो । तर बागलुङ र पर्वतका विभिन्न ठाउँमा पहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्न सक्नुभएन ।
बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि मंगलबार बिहान सदरमुकाम आइपुग्नुभएकी उहाँले पोखरा पुग्न पनि कठिन यात्रा गर्नुपर्यो । बागलुङ बजारबाट झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब ४५ मिनेट पैदल हिँडेपछि मात्रै उहाँले पोखराका लागि गाडी भेट्टाउनुभयो ।
बागलुङ–पर्वत सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि यात्रुहरू वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका हुन् । त्यस्तै, पर्वतको कुश्मा नगरपालिका–२ नयाँपुलमा कालीगण्डकी नदीले सय मिटरभन्दा बढी सडक कटान गरेपछि मध्यपहाडी लोकमार्गबाट बागलुङ, पोखरा हुँदै अन्य गन्तव्यतर्फ जाने यातायात प्रभावित भएको छ ।
लोकमार्ग अवरुद्ध हुँदा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट काठमाडौंका लागि छुट्ने सवारीसाधनसमेत सहज रूपमा सञ्चालन हुन सकेका छैनन् । मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त बढी प्रभावित भएका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाबाट बिरामी लिएर पोखरा आउनुभएका प्रेम श्रीसले मालढुङ्गाको पुल यथाशीघ्र पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । “बागलुङ जोड्ने मुख्य सडक र पुलमा क्षति पुगेकाले आवतजावत र ढुवानीमा ठूलो समस्या देखिएको छ,” उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले जतिसक्दो चाँडो लोकमार्ग सञ्चालनमा ल्याउनुपर्छ ।”
धवलागिरि–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीका अनुसार वैकल्पिक सडक प्रयोग गरेर साना सवारीसाधन मुस्किलले सञ्चालन भइरहेका छन् । बस सञ्चालन गर्ने अवस्था नरहेको र सबैभन्दा बढी समस्या बिरामीलाई परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मंगलबार बिहान मात्रै बागलुङबाट एक बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था आएको थियो । लोकमार्गमा क्षति पुगेका सडक तथा पुलको पुनर्निर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ ।
हाल बागलुङबाट पोखरालगायत गन्तव्यमा जाने साना सवारीसाधन कालीगण्डकी करिडोर हुँदै ज्यामिरेघाट–फलेवासतर्फको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । यसबाट करिब एक घण्टाको अतिरिक्त दूरी तय गर्नुपर्ने अवस्था छ ।
बागलुङ–पोखरा चल्ने विद्युतीय माइक्रोबसले पनि बागलुङ बजारबाट पैदल हुँदै पर्वतको पाङसम्म पुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा पुर्याइरहेको चालक सुवास परियारले बताउनुभयो ।
उहाँका अनुसार मालढुङ्गाको पुल भत्किएपछि यातायात सञ्चालनमा ठूलो समस्या भएको छ । चाडपर्वको समय भएकाले यात्रुको चाप बढ्ने भए पनि सडक अवरुद्ध हुँदा सेवा प्रभावित भएको उहाँले बताउनुभयो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले कुश्मा–२ नयाँपुलमा नदीले सडक कटान गरेको स्थानमा अस्थायी मार्ग निर्माणको काम सुरु भइसकेको जानकारी दिनुभयो । एक–दुई दिनभित्र एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
मालढुङ्गाको क्षतिग्रस्त पुलमा बेलीब्रिज राख्ने वा अन्य प्रविधिबाट पुनर्निर्माण गर्ने भन्ने विषय भने टुङ्गो लागिसकेको छैन । सम्बन्धित इन्जिनियर तथा प्राविधिकले पुलको अध्ययन र स्थलगत अवलोकन गरिसकेको र यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रजिअ क्षेत्रीले बताउनुभयो ।
कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । कतिपय ठाउँमा एकतर्फी यातायात सञ्चालनमा आए पनि ठूलो क्षति भएका स्थानमा आवागमन सहज हुन अझै समय लाग्ने देखिएको छ ।
यसैगरी, मालढुङ्गाबाट बेनी हुँदै मुस्ताङको कोरलासम्म जोडिने सडकसमेत अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
