निजी तथा सामुदायिक स्वास्थ्य संस्थासमेत समेटेर खोपको सूक्ष्म योजना बनाउँदै काठमाडौँ महानगर

काठमाडौँ, १३ असोज । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र नियमित खोप सेवा सञ्चालन गर्ने सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थासमेत समेटेर खोप सेवाको सूक्ष्म कार्ययोजना तयार गर्ने भएको छ । यसअघि महानगरपालिकाले आफ्ना स्वास्थ्य प्रवर्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सूक्ष्म कार्ययोजना बनाउँदै आएको थियो ।

अन्य स्वास्थ्य संस्थाबाट सञ्चालन हुने खोप सेवाका लागि स्वास्थ्य कार्यालयले कार्ययोजना तयार गर्दै आएकोमा यस वर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै नियमित खोप सेवा प्रदायकको अवस्थासमेत समेटेर योजना बनाउन लागेको हो । यसका लागि नियमित खोप कार्यक्रम, खोपबाट बचाउन सकिने रोगको खोज तथा पड्ताल, नयाँ खोप र रोगसम्बन्धी जानकारी, सरसफाइ प्रवर्धन तथा खोप सेवाको अवस्थाको समीक्षा गरी सूक्ष्म योजना अद्यावधिक गर्न गोष्ठी सञ्चालन भइरहेको छ ।

जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन मैयाँ सैँजुका अनुसार गोष्ठीको पहिलो चरणमा महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रका इञ्चार्ज तथा खोपकर्तालाई दुई समूहमा विभाजन गरी दुई–दुई दिनको सूक्ष्म योजना तथा समीक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । दोस्रो चरणअन्तर्गत आजदेखि महानगर क्षेत्रभित्र सञ्चालित खोप सेवा प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर गोष्ठी सुरु गरिएको हो । कार्यक्रममा २२ वटा संस्थाका खोपकर्ता सहभागी छन् ।

नियमित खोप सेवाको पहुँच विस्तार गर्दै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गरी सेवा सुनिश्चित गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ । स्वास्थ्य संस्थाबाट प्राप्त खोपसम्बन्धी तथ्यांक, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर तथा सेवा पहुँचको अवस्थाको विश्लेषण गरी वडा हुँदै महानगरस्तरीय योजना तयार गरिनेछ ।

आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार महानगरपालिकामा अधिकांश नियमित खोपको कभरेज लक्षित जनसंख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रबिना कर्माचार्यका अनुसार बीसीजीको कभरेज ३१८.९६ प्रतिशत, डिपिटी–हेपबी–हिब पहिलो मात्रा १३२.७५ प्रतिशत, तेस्रो मात्रा ११८.२८ प्रतिशत, पोलियो पहिलो मात्रा १३३.०२ प्रतिशत, पीसीभी पहिलो मात्रा १३२.८८ प्रतिशत, एमआर पहिलो मात्रा ११४.२७ प्रतिशत र एमआर दोस्रो मात्रा ११०.९४ प्रतिशत रहेको छ ।

तर, सोही अवधिमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात भने ७२.०८ प्रतिशत मात्र रहेको छ । कभरेजका केही सूचक १०० प्रतिशतभन्दा माथि देखिनु र पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात तुलनात्मक रूपमा कम रहनुले लक्षित जनसंख्या निर्धारण, सेवाको उपयोग, अभिलेख तथा रिपोर्टिङ र वास्तविक रूपमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अवस्थालाई थप सूक्ष्म रूपमा विश्लेषण गर्नुपर्ने देखिएको छ ।

महानगरपालिकामा पहिलो मात्रा लिएका बालबालिकाले पछिल्ला मात्रा लिँदै एमआर दोस्रो मात्रासम्म खोप पूरा गरे–नगरेको अवस्था पनि सूक्ष्म योजनाको महत्वपूर्ण विषय बनेको छ । प्रस्तुत तथ्यांकअनुसार पेन्टा पहिलो मात्रा र एमआर दोस्रो मात्राबीचको ड्रपआउट दर १८.०७ प्रतिशत छ । खोप कार्यक्रमको सूक्ष्म योजनामा १० प्रतिशतभन्दा कम ड्रपआउटलाई न्यून र १० प्रतिशत वा सोभन्दा बढीलाई उच्च ड्रपआउटका रूपमा वर्गीकरण गर्ने आधार तय गरिएको छ ।

खोप खेर जाने दरसमेत महानगरपालिकाको योजनामा सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा पेन्टा खोपको खेर जाने दर ३३.१२ प्रतिशत, एमआरको ३८.५१ प्रतिशत, ओरल पोलियो भ्याक्सिन (ओपीभी)को ३३.५४ प्रतिशत, पीसीभीको १४.४५ प्रतिशत र टाइफाइडविरुद्धको भ्याक्सिन (टीसीभी)को २८.२१ प्रतिशत रहेको छ । जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार खोपअनुसार स्वीकार्य खेर जाने दर फरक हुने भएकाले वास्तविक खपत, लक्षित संख्या र भायल व्यवस्थापनका आधारमा खोपको आवश्यकता अनुमान गरी आपूर्ति तथा उपयोगलाई व्यवस्थित गरिनेछ ।

रिपोर्टिङतर्फ महानगरपालिकाको समग्र समयमै रिपोर्ट गर्ने दर ८४.३६ प्रतिशत रहेको छ । वडागत रूपमा भने समयमै रिपोर्टिङ गर्ने दरमा ठूलो अन्तर देखिएको छ । केही स्वास्थ्य प्रवर्धन केन्द्रबाट नियमित रूपमा समयमै रिपोर्टिङ भए पनि कतिपय केन्द्रमा यो दर २५ प्रतिशत, ४१.६७ प्रतिशत, ५० प्रतिशत र ५८.३३ प्रतिशतसम्म रहेको तथ्यांक प्रस्तुत गरिएको छ । यसले खोप कार्यक्रमको प्रभावकारी योजना र अनुगमनका लागि नियमित तथा गुणस्तरीय तथ्यांक अभिलेखीकरण र रिपोर्टिङलाई प्राथमिकतामा राख्नुपर्ने देखाएको छ ।

गोष्ठीमा विश्व स्वास्थ्य संगठनका आईपीडी अफिसर डा. सागर शाक्यले खोपबाट बचाउन सकिने रोगको खोज तथा पड्तालसम्बन्धी विषयमा र स्वास्थ्य कार्यालयका कोल्ड चेन अफिसर अजय सहनीले खोपका लागि तापक्रम व्यवस्थापन तथा निगरानीसम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो ।

महानगरपालिकाले सूक्ष्म योजनामा प्रत्येक वडा तथा स्वास्थ्य संस्थाबाट छुट्टाछुट्टै योजना तयार गरी त्यसलाई महानगरस्तरमा समायोजन गर्ने तयारी गरेको छ । खोप सेवाबाट वञ्चित क्षेत्र, वर्ग तथा समुदायको पहिचान, समस्याको कारण विश्लेषण, स्थानीय समुदाय तथा सरोकारवालाको सहभागिता, घरधुरी सर्वेक्षण, छुट तथा ड्रपआउट बालबालिकाको खोजी, नियमित खोप सत्रको पुनरावलोकन, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय, खोप आपूर्ति र कोल्डचेन सामग्रीको वास्तविक आवश्यकता निर्धारण तथा नियमित अनुगमनलाई योजनामा समेटिनेछ ।

खोपको कभरेज बढाउने लक्ष्यमा मात्र केन्द्रित नभई कुन बालबालिका खोपबाट छुटे, किन छुटे, कुन क्षेत्रमा सेवा पहुँच कमजोर छ र पहिलो मात्रा लिएपछि पछिल्ला मात्रा लिन किन आएनन् भन्ने विषयलाई तथ्यमा आधारित रूपमा पहिचान गरी समाधान गर्नेमा सूक्ष्म योजनाले जोड दिनेछ । स्वास्थ्य संस्था तहबाट सुरु हुने योजना वडा हुँदै महानगरस्तरमा समायोजन गरी खोप सेवाको पहुँच विस्तार, ड्रपआउट र खोप खेर जाने दर न्यूनीकरण तथा तथ्यांकको गुणस्तर सुधारमा केन्द्रित गरिने महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *