कञ्चनपुरको भीमदत्तमा गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी लिंदै किसान

कञ्चनपुर, २६ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादन गर्दै आएकाे हो । “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उनले भने, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।”

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन् । मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेका छन् । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउँछिन् । “अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन”, उनले भने, “तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन् ।” उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी लिइरहकी छन् ।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन्। “कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ”, गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुन्छ ।

उनले भनिन्, “गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ ।” जोशीले गड्यौला र मल दुवै बिक्री गर्दै आएकी छिन् ।