मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

सिन्धुपाल्चोक, २६ फागुन । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

आयोजना सम्बद्ध अधिकारीका अनुसार आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत बराबर पुगेको छ । भौतिक पूर्वाधारको काम अन्तिम चरणमा भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्यका साथ अगाडि बढाइएको छ ।

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण सम्पन्न भएको छ । हाल सो अयोजना निर्माणाधीन क्षेत्रको पर्खाल निर्माण एवं अन्य सुरक्षाका कार्य भइरहेको छ । कूल सात दशमलव दुई किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी हाल कङ्क्रिट लाइनिङको काम भइरहेको छ ।

विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो दुई सय २० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । त्यसको तार तान्न बाँकी छ ।

विसं २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमानाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासका क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो ।

प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो ।

कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष सुभाषकुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।

टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी आगामी चार महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तिब्रता दिन निर्देशन दिएको छ । कम्पनीका सिइओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको उल्लेख गर्नुभयो ।

ठेकेदार कम्पनीका प्रतिनिधिले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताएका थिए । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु १५ अर्ब तीन करोड दुई लाख छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावरको समान एक÷एक एक प्रतिशत सेयर रहेको छ ।

कूल ४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकवासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले साधारण सेयर निष्कासन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *