चर्को ब्याज विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं, २८ फागुन । बैंकहरूले लगाउने चर्को ब्याजका विरुद्ध देशका सबैजसो उद्यमी एवं व्यवसायीहरू आन्दोलनमा उत्रेका छन् । आज उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा ब्यानर प्रदर्शन गरी आन्दोलन अघि बढाएका हुन् ।
गएको केही समय अघिदेखि बैंकहरूले आफूखुशी ब्याज बढाएर व्यवसायीलाई मर्कामा पारेको भन्दै उक्त प्रदर्शन गरिएको हो ।
कार्यक्रममा सबै जिल्लाका उद्योग वाणिज्य संघहरूको ब्यानर प्रदर्शन गरिएको थियो । उनीहरूले ‘चर्को व्याज दर नियन्त्रण गर’, ‘बैंकिंग आतंक बन्द गर’ लेखिएका ब्यानरहरू पनि प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी महिला उद्यमी राज्यलक्ष्मी शाक्यले बैंकहरूले बिना कुनै जानकारी आजको भोलि नै ८ प्रतिशतबाट १० प्रतिशत, १० प्रतिशतबाट १५ प्रतिशत ब्याज बढाउने काम गरिरहेकोले यो प्रदर्शन गर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैंकसँग लोन लिएर काम गर्ने व्यवसायीले त पहिले जुन दरमा लोन लिएको हो त्यही दरको हिसाबले काम गरिरहेको हुन्छ । अचानकै ब्याज दर बढाइदिँदा कसरी काम गर्ने ? यसको सुनुवाई पनि कतै भएन । त्यही भएर आन्दोलनमा आउनु परेको हो ।’
बैंकहरूको ब्याज बढाउने यो प्रवृत्तिले नेपालका कुनै पनि उद्योग व्यवसायी सञ्चालन हुन नसक्ने र यसले अन्ततः नेपालको औद्योगिक विकासलाई नै अवरुद्ध पार्ने कुरा पनि उहाँले बताउनुभयो ।
आफूहरू विशुद्ध शान्तिपूर्ण ढंगले प्रदर्शनका आएको हुनाले बैंक र सरकारी निकायले यसमा ध्यान दिनुपर्ने माग पनि उहाँले गर्नुभयो ।