नेप्सेमा २४.६८ अंककाे गिरावट, नेप्सेसंगै बजार पनि घट्याे

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब २७ अंक घटेर बन्द भएको नेप्से, यस दिन साढे २४ अंकभन्दा बढी घटेको हाे।

यस दिन नेप्से परिसूचक २४.६८ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.४६ अंक, फ्लोट इण्डेक्स १.७५ अंक घटेको छ।

अघिल्लो कारोबार दिन साढे १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन २५६ स्टकको २६ हजार ८५० पटकको कारोबारमा १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ३३ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार बजार घटेपनि शुभम् पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यस दिन ३५ रुपैयाँ २० पैसा बढेर ३८७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन खप्तड लघुवित्तको शेयरमूल्य सर्वाधिक ७.६२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन आदर्श लघुवित्त, हिमालयन बैंक र नाडेप लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।