प्रकृतिको कुचीकार गिद्ध संरक्षण नहुँदा सङ्कटमा

बैतडी, ३० फागुन । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् ।

बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चाैडी नगरपालिकाका केही क्षेत्रलाई गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ ।

पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन् ।

उनले भने, “अतिसङ्कटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा सङ्कटमा परेका छन्, केही वर्षयता गिद्ध कम सङ्ख्यामा देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध सङ्कटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो ।”

फागुनदेखि जेठसम्म प्रजनन गराउने समय रहेकाले यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हुँदै गएका हुन् । डगौराले भने, “प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध सङ्कटमा परेका छन्, आहार र बासस्थानको कमी भएपछि पलायन हुने गर्दछन् ।”

प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रुख नभएकाले लोप हुँदै गएको पनि बताइन्छ ।

पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने औषधि) जस्ता औषधिको प्रयोगले पनि गिद्धको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउँदा पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चराविज्ञ बताउँछन् । साथसाथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेका डगौराको भनाइ छ ।

चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे (सेतो गिद्ध), राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गिद्ध पाइन्छन् । गिद्ध आफैले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन् ।

उनीहरुले फोहर तथा हानिकारक मासुजन्य सिनो खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन् । गिद्धमा हानिकारक तत्वलाई पचाउन सक्ने क्षमता हुने भएकाले वातारवरणलाई स्वच्छ राख्न उनीहरुबाट मद्दत पुगेको हो ।

गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ । सरकारले गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम सञ्चालन नगरेकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।

संरक्षणका लागि पहल हुनसके गिद्ध लोप हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरी बताए । उनले भने “गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ ।”