ग्रामीण पर्यटनको आकर्षण बन्दै गुल्मीका होमस्टे

गुल्मी, १२ कात्तिक । स्थानीय परिकारको मौलिक स्वाद, गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन गुल्मीका ग्रामीण बस्तीमा पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ। स्थानीय उत्पादनबाट तयार गरिने खानालाई आतिथ्यसत्कारसँग जोडेर सञ्चालित घरबास (होमस्टे) जिल्लाको ग्रामीण पर्यटनको मुख्य आधार बन्दै गएका छन्।

स्थानीय जातको दालको बटुक, कोदोको सेलरोटी, सिस्नु, रैथाने जातका मासुका परिकार, भुटेको मकै, टिमुरको छोप, बाँकोको गुन्द्रुक, मोही तथा विभिन्न अर्गानिक तरकारीका परिकार होमस्टेका प्रमुख आकर्षण बनेका छन्। पाहुनालाई स्थानीय स्वादका साथै गाउँको मौलिक जीवनशैलीसँग परिचित गराइने भएकाले होमस्टेमा आवतजावत बढ्दै गएको हो।

चर्चित होमस्टे

हाल जिल्लामा नियमित सञ्चालनमा रहेका सत्यवती गाउँपालिका–८, भार्सेको रानीवन सामुदायिक होमस्टे, कालिगण्डकी गाउँपालिका–७, भुर्तुङको धुवाँखोला होमस्टे र रेसुङ्गा नगरपालिका–१३, भँगारीको रेसुङ्गा होमस्टेमा पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको पाइएको छ।

विगत आठ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको रानीवन सामुदायिक होमस्टेमा १४ महिला र तीन पुरुष आबद्ध छन्। ५० जनासम्म पाहुना राख्न सक्ने क्षमता भएको उक्त होमस्टेमा हिउँदयाममा दैनिक ३५ देखि ४५ जनासम्म पर्यटक आउने गरेको सञ्चालक सुजन गलामीले बताउनुभयो।

रानीवन होमस्टेमा ठाडो भाका, चुड्का, सालैजो, सोरठी, कृष्णचरित्र र पञ्चेबाजाजस्ता सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय खानाका परिकार पाहुनाको प्रमुख रोजाइमा पर्दै आएको छ।

सांस्कृतिक अनुभव

त्यसैगरी, भुर्तुङस्थित धुवाँखोला सामुदायिक होमस्टेमा रैथाने खानाका परिकार र परम्परागत सांस्कृतिक प्रस्तुतिले पर्यटकलाई आकर्षित गरिरहेको छ। स्थानीय समुदायको सक्रियतामा सञ्चालित उक्त होमस्टेमा पाँच महिला आबद्ध रहेका छन् भने २० जनासम्म पाहुनालाई आवास दिन सकिने व्यवस्थापक आशिष गुरुङले जानकारी दिनुभयो।

होमस्टेमा झाँम्रे, सालैजो, ठाडो भाका, सोरठी र घाटुलगायत सांस्कृतिक प्रस्तुति समेत देखाइने सञ्चालक दिलमाया गुरुङले बताउनुभयो।

सदरमुकाम तमघास नजिकै रहेको रेसुङ्गा होमस्टेमा पनि पर्यटकको चहलपहल बढ्दै गएको छ। स्थानीय कुखुराको मासु, दालको बटुक, रोटी, सिस्नुको साग, बिरम्ला, भुटेको मकै, टिमुरको छोप, मोही, कोदोको ढिँडो तथा अर्गानिक परिकार उपलब्ध रहेको सञ्चालक यज्ञ थापाले बताउनुभयो।

थप होमस्टेहरू

सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक सामुदायिक होमस्टे, मुसिकोट नगरपालिका–६ को स्वाँरास्थित गुरुङ सामुदायिक होमस्टे र चन्द्रकोट गाउँपालिका–४ को रेमीस्थित तिमुरे सामुदायिक होमस्टेमा समेत अर्गानिक खानासहित स्थानीय परिकार उपलब्ध छन्। पाहुनाको माग भएमा ती होमस्टेमा सांस्कृतिक प्रस्तुति समेत गरिने गरेको छ।

ग्रामीण क्षेत्रको रहनसहन, स्थानीय खाना र मौलिक संस्कृतिको स्वाद लिन पाइने भएकाले पर्यटकको पहिलो रोजाइ होमस्टे नै बन्दै गएको रानीवन सामुदायिक होमस्टेका सञ्चालक नर बुढाथोकीले बताउनुभयो। स्थानीय मेला, पर्व तथा विभिन्न औपचारिक कार्यक्रमका समयमा होमस्टेमा पाहुनाको चाप अझ बढ्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *