नेप्से ओरालाे लागेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किटमा कारोबार
काठमाडाैं, १ चैत्र । मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, बुधबार भने घटेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.१५ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५३ स्टकको २५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बजार घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यूनिक नेपाल लघुवित्तको शेयरमूल्य यस दिन १३२ रुपैयाँ ५० पैसा बढेर १ हजार ४५८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ भने शुभम पावरको ४२ रुपैयाँ ६० पैसा बढेर ४६९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन किसान लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १० करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.५१ प्रतिशत बढेको छ।