उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण
एजेन्सी, २ चैत्र । उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारीराखेको छ । पाँच दिनको अन्तरालमा आज गरिएको प्रक्षेपण तेस्रो हो ।
“हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्र वरपरबाट प्रक्षेपण गरिएको एउटा लामो दुरीको ब्यालिस्टिक मिसाइल पत्ता लगाएको छ,” दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एएफपीलाई भनेका छन् । उनका अनुसार आज प्रक्षेपण गरिइको क्षेप्यास्त्र इन्टर कन्टिनेन्टल ब्यालिेस्टिक मिसाइल हो । उक्त क्षेप्यास्त्रलाई उच्च गतिमा प्रक्षेपण गरिएको थियो ।
जापानको मन्त्रिपरिषद् कार्यालयले उक्त क्षेप्यास्त्र छ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको जनाएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको अपरिहार्यतामा जोड दिँदै पछिल्लो घटनाक्रमबारे राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीसँग परामर्श गर्ने बताए ।
पैतीस वर्ष लामो औपनिवेशिक शासनमा जापानी पक्षबाट भएका अत्याचारका कारण सोल र टोकियोबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै छिमेकीहरूलाई चेतावनी दिन जापान शिखर सम्मेलनकै दिन पारेर क्षेप्यास्त्र प्रक्षेपण गरेको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।
छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको उनीहरूले बताएका छन् । उत्तर कोरियाले आज गरेको प्रक्षेपणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्य अझ सुदृढ हुने उनीहरूको तर्क छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।
प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई आफूमाथिको आक्रमणकाे पूर्वाभ्यासका रूपमा लिएको छ भने त्यसको प्रतिकार गर्ने चेतावनी बारम्बार दिँदै आएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनि उत्तर कोरियाले पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । फ्रिडम शिल्ड नाउँको अमेरिका–कोरिया सैन्य अभ्यास आगामी १० दिनसम्म जारी रहने छ ।