टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण माग

 

काठमाडौँ, ५ चैत । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको अवलोकन भ्रमण गरेपछि थापाथली टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई निर्देशन दिएको छ । कार्यवाहक प्रमुख डंगालले हिजो विहान उक्त क्षेत्रको अवलोकन भ्रमण गरिसेकपछि त्यहाँ सम्पन्न भएका सम्पदाहरुका बारेमा महानगर र स्थानीय वडा समेतलाई जानकारी नदिएको हुनाले उक्त विवरण बुझाउन निर्देशन दिएको बुझिएको छ । उक्त स्थानका केही सम्पदा निर्माण सम्पन्न भएपछि महागनरलाई यसको जिम्मेवारी सुम्पन्न महानगरलाई अनुरोध गरेपछि पुनः निर्माण भएका सम्पदाको विवरणका आधारमा सम्पदाको एकीकृत संरक्षण, व्यवस्थापन र प्रवद्र्धनका विषयमा अघि बढ्न सजिलो हुने भएकोले त्यसकै लागि विवरण माग गरिएको हुनसक्ने एक सहभागीले जानकारी दिएको छ ।

थापाथलीदेखि टेकु दोभानसम्म एसियन विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्मका जीर्ण सम्पदा पुनःनिर्माण तथा मर्मतसम्भार भएका छन् । यस चरणमा पुनःनिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिसकिएको छ ।

शिव मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सिघाट सत्तल, पञ्चनारीघाट सत्तल र लक्ष्मेश्वर मन्दिरको सबलीकरण गरिएको छ । यसका लागि करिब रु ३७ करोड लागत अनुमान गरिएको थियो । त्यसैगरी, दोस्रो र तेस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुनःनिर्माण, मर्मतसम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेका छन् ।

दोस्रो चरणको काम गर्न करिब रु ४० करोड र तेस्रो चरणको काम गर्न करिब रु ३५ करोड लागतमा अनुमान गरिएको छ । यस क्षेत्रमा सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । ती मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति परम्परासँग सम्बन्धित छन् ।

सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित छन् । सम्पदाको परम्परागत सामाजिक उपयोगसँगै नदी किनार क्षेत्रलाई विद्यार्थीका लागि वातावरण शिक्षाको व्यावहारिक ज्ञान लिनसमेत उपयोग हुने बताइएको छ । यो मानव निर्मित प्राचीन भौतिक संरचना, महत्वसँगै प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको स्थान हो ।