सुरत जिल्ला अदालतले राहुल गान्धीलाई सुनायो २ वर्षको जेल सजाय
काठमाडौं, ९ चैत । भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा कांग्रेस नेता राहुल गान्धीलाई उनको बयानको लागि दायर गरिएको मानहानीको मुद्दामा दोषी ठहराइएको छ।
गान्धीले कर्णाटकको एक र्यालीमा ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’ भन्दै उत्तेजक भाषण गरेका थिए । गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो ।
सुरतको अदालतले त्यहि पुरानो मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।
तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ। राहुलको बयानलाई सम्पूर्ण मोदी समुदायको अपमान भएको भन्दै भाजपा विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेको आजतकले लेखेको छ । त्यसैगरी टाइम्स अफ इन्डियाले सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार उक्त सजाय सुनाएको उल्लेख गरेको छ।
