अचेल बिक्न छाडे डालो र नाङ्लो

बाग्लुङ, १४ चैत्र । दुई दिनदेखि बागलुङ कालिका परिसरमा चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अर्धबैंसे युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ ।

त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन् । उनी हुन् जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक । पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन् ।
एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन । मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन् ।

डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ । झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ ।

दिनभरिमा दुई/चार वटा डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ । मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन् । उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ । चार दिनमा आठ/दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन् ।

विक भन्छन्, “चैते दसैँ बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ ।”

उनीहरुको टोलीले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन् । सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गरे ।

चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको हेमबहादुर बताउँछन् ।

केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले त सानाठूला कुनैले पनि बजार पाएको छैन । आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *