भोलिदेखि सेतो मत्स्येन्द्रनाथको रथ यात्रा

कसरी बनाइन्छ मत्स्येन्द्रनाथको ३२ हाते रथ ?

काठमाडौं, १४ चैत । भोलि चैत्र १५ गते बुधवारका दिनदेखि काठमाडौंमा सेतो मत्स्येन्द्रनाथ अर्थात जनबहाःद्यःको रथ जात्रा आरम्भ हुँदैछ ।

गत साता मात्रै पाहाँ चःह्रेको उपलक्ष्यमा काठमाडौंका विभिन्न अजिमाहरूको खट जात्रा सम्पन्न भयो । पाहाँ चःह्रे जात्राको समापन लगत्तै श्री जनबहाःद्यः अर्थात लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथ जात्रा आरम्भ हुँदैछ ।

भोलि साँझ ५ बजे काठमाडौंको जमलबाट रथ तानेर यो जात्रा शुरु हुनेछ ।

सेतो मत्स्येन्द्रनाथ जात्राको प्रमुख आकर्षण हो, यसमा तानिने अग्लो रथ । ३२ हात अग्लो उचाइ रहेको यो रथ बनाउन ७ देखि ८ दिनसम्म लाग्ने गर्दछ । रथ बनाउने कार्यमा काठमाडौंका महर्जन, तुलाधर, नकर्मी, मुनिकार, चित्रकार, मानन्धर आदि समुदायको भूमिका रहने गर्दछ ।

तर पनि तल पांग्रादेखि माथि गजुरसम्मै रथ निर्माण गर्ने र जात्रा सकिएपछि रथका पूर्जाहरु खोल्ने कामको जिम्मेवारी भने विभिन्न कवलका ७८ जना महर्जन परिवारलाई दिइएको छ ।

ती ७८ जना महर्जन परिवारभित्रैका एक वरिष्ठ सदस्य हुनुहुन्छ पूर्णमान महर्जन । उहाँ तुकंबहाः कवलका कजि (प्रमुख) हुनुहुन्छ । सेतो मत्स्येन्द्रनाथको रथ निर्माण कसरी गरिन्छ, उहाँकै भाषामा सुनौँ न —

हरेक वर्ष चैत्रशुक्ल परेवाका दिन हामीले रथ बनाउन शुरु गर्ने हो । त्यसको लागि सबैभन्दा पहिले कमलादी गणेशथानमा राखिएको रथको पांग्रा गुडाएर ल्याउने हो । जमलमा रथ बनाउने ठाउँमा पांग्रा राखिसकेपछि त्यसमा ‘तःथां’ राखिन्छ । त्यसपछि ‘घःमाः पासा’ जोडिन्छ । अनि ‘सिसां’ राखिन्छ ।

त्यसपछि दुई दिनसम्म रथलाई सिकर्मीको जिम्मा दिइन्छ । दुई दिनभित्र उनीहरूले रथमा गर्नुपर्ने काठसम्बन्धी काम सकाउँछ । त्यसपछि फेरि हामीले नै रथको बाँकी काम गर्ने गर्छौँ ।

रथ निर्माणको कामलाई चार भागमा छुट्याएर चार वटा कवललाई जिम्मा दिइएको छ । गोफल कवल र मखन कवल मिलेर रथको अगाडिका दुई वटा पांग्राको दायाँ बायाँ गरी माथिका सबै काम गर्दछ ।

हाम्रो तुकंबहाः कवलले पछाडिको बायाँ कुनोको भाग बनाउँछ । बिज्यापू ननी कवलले पछाडिको दायाँ कुनोको भाग बनाउँछ ।

यी चारै कवल गरी जम्मा ७८ जनाको समूह बन्छ । अहिले यसमा कोही छोडेर गइसकेका छन् भने कोही चाहेर पनि आउन सकेका छैनन् । तै पनि हामीले अरु सक्ने मान्छेको सहयोग लिएर भए पनि भगवानको काम गरिरहेका छौँ ।

हामी रथ बनाउनेहरूलाई ‘रकमी’ भनिन्छ । यो ‘रथकःमि’ भन्दाभन्दै रकमी हुन गएको हो कि थाहा भएन ।

पहिले पहिले त रथको पांग्रा र अरु पूर्जाहरू जमलको तीनधारा सँगै ‘पांग्रा घर’ भन्ने एउटा टहरा बनाएर राख्ने गरिन्थ्यो । ०२२–२३ सालतिर म बुबाको सट्टा रथ बनाउन आउँदा त्यही पांग्रा घरबाट पांग्रा गुडाएर लाने गर्थेँ ।

पछि सडकको बीचमा राजा महेन्द्रको सालिक बनाएपछि सडक पनि फराकिलो पार्यो । त्यही बेला त्यो पांग्रा घर पनि त्यहाँबाट हटाइदियो । त्यसपछि रथको पांग्रा र पूर्जाहरू कमलादी गणेशथानमा टहरा बनाएर राख्न थालियो । अहिले पनि त्यहीं राख्ने गरिन्छ ।

पहिला पञ्चायतकालमा रथ बनाइरहँदा अन्तिम दिनमा दरवारबाट कतिबजे रथ तानिन्छ भनेर सोध्न आउँथ्यो । हामीले यति बजे रथ तानिन्छ होला भनेर जवाफ दिएपछि त्यति नै बेला मुमा बडा महारानी सवारी भएर मत्स्येन्द्रनाथलाई पूजा चढाएर दर्शन गर्ने गरिन्थ्यो । २०४६ सालको आन्दोलनपछि उहाँ आउन बन्द भयो ।

रथ बनाउन पहिला त सान्नानी, चिलाउने जातका रुखको काठ प्रयोग गरिन्थ्यो । त्यो एकदम बलियो हुन्थ्यो । अहिले त्यस्तो काठै किन्न पाइँदैन । त्यसैले अग्राठ प्रयोग हुन थालेको छ । अग्राठ पनि बलियो त हो तर त्यो भाँच्ने सम्भावना हुन्छ ।

अब यो सिंगो रथ बनाउन जम्मा कति खर्च पर्छ त्यो त हामीलाई थाहा भएन । सबै गुठी संस्थानले व्यहोर्ने हो । हामी रथ बनाउने ७८ जना रकमीहरूलाई चाहिँ पहिला पहिला दिनको एक माना चिउरा खाने भनेर १२ दिनको जम्माजम्मी २९९ रुपैयाँ दिने गरिन्थ्यो ।

अहिले बजार भाउ अनुसार त्यो त पुग्दै पुग्दैन । अहिले पनि हामीलाई चिउरा खान पुग्ने जति दिने गरेको छ । त्यस्तै दिनको २५० रुपैयाँ जति आउँछ होला । तर भगवानको काम हो भनेर हामीले पुन नपुग हेरेको छैन । बरु हामी आफैले अलि अलि पैसा जम्मा गरेर ब्याज आउने एउटा व्यवस्था गरेका छौँ । नपुगेको पैसा त्यही ब्याजबाट टार्ने गर्छौँ ।

अब जे होस्, बाउ बाजेदेखि गर्दै आएको काम हो । हामीले बाउ बाजेको सम्पत्ति मात्रै भाग लाउने होइन, उहाँहरुले वहन गर्दै आएको जिम्मेवारी पनि भाग लाउनुपर्छ भनेर अहिलेसम्म यो काम गर्दै आएका छौँ । भगवानको काम गरेपछि आनन्द पाइन्छ । जिन्दगीमा आनन्द भन्दा ठूलो त के पो चाहिन्छ र मान्छेलाई, होइन र ?