आत्मनिर्भर बनाउने योजना बनाइँदै जयनगर–कुर्था रेल सेवा
वीरगञ्ज, २० चैत । जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ ।
गत २०७८ साल चैत १९ गते उद्घाटन पश्चात चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुई आउने र दुई पटक जाने गरेको छ ।
रेल सेवा सुरु हुनुअघि रेलमा यात्रु हुन्छ कि हुँदैन भन्ने आशङ्काका बीच सुरु भएको रेल सेवामा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले भने, “रेलमा यात्रुको चाप दैनिक बढ्दै गएको छ ।” एक वर्ष रेल नियमित सञ्चालन गर्न सफल हुँदा नेपाली रेल्वे सेवालाई आत्मनिर्भर बनाउन आत्मविश्वास जागेको उनको भनाइ छ ।
नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजनाअघि बढाएको महाप्रबन्धक झाले बताए ।
तत्काल स्थायी कर्मचारीको सङ्गठन संरचना निर्माण, वासिङ सेन्टर र र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गाे रेल सेवा सञ्चालनको तयारी सुरु गरिएको महाप्रबन्धक झाले बताए ।
नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतमा वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ ।
“नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले भने, “यसका कारण हामीले वासिङमा मात्र बर्सेनि रु पाँच करोड खर्चिदै आएका छौँ ।” भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौँ उनले भने ।
“नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु सात करोडभन्दा बढी रकम बचत हुन सक्छ”, उनले भने, “त्यसका लागि हामीले योजना बनाएर अघि बढेका छौँ, नेपालमै वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौँ ।” नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ ।
“नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन्”, महाप्रबन्धक झाले भने, “भारतीय कर्मचारीको तलब, रेलको मेन्टिनेन्स, सामान खरिदलगायतमा वार्षिक रु ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ ।” हामीसँग आफ्नो नेपाली चालक छैन, त्यसैलै भारतीय चालकले नै रेल चलाउँदै आएको छ त्यसबापत उहाँहरुलाई तलबबापत मात्रै मासिक रु १८ लाख तिर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ ।
“हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौँ, आएपछि उहाँहरुलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौँ”, उनले भने”, जसले गर्दा भारतीय जनशक्ति नै निर्भर हुनुपर्ने अवस्था रहँदैन, नेपाली नै रेल चलाउन सक्छ ।”
जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको रेलबाट दैनिक रु दुई लाख पाँच हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलबाट वार्षिक रु आठ करोड आम्दानी हुँदा खर्च भने रु ५० करोड जति हुँदै आएको महाप्रबन्धक झाले बताए ।
अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कार्पाेरेशन (कोङकण) लाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाको भनाइ छ । रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौता अनुसार भारतीय रेल्वे कम्पनीलाई रु ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताए । त्यसैले जयनगर–कुर्था खण्डमा यात्रुबाहक रेल सेवासँगै कार्गाे रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ ।
“संसारमा कही पनि यात्रुबाहक रेल मात्र चलाएर रेल सेवा फाइदामा गएको इतिहास छैन, रेल सेवालाई फाइदामा लैजान कार्गाे सेवा नै चलाउनुपर्छ”, महाप्रबन्धक झाले भने, “त्यसैले हामी केही समयपछि कार्गाे रेल सेवा पनि चलाउँछौँ, त्यसका लागि तयारी थालिसकेका छौँ ।”
हाल जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काे रेल छुट्ने गरेको छ । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन÷हल्ट रहेका छन् । तीनमा कुर्था, परवाहा, वैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् ।
भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले दुवै सेट रेल सञ्चालनमा छ ।
