नवलपरासीमा स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का किसान स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।

किसान मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती गरेकी छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ ।

यस क्षेत्रमै पहिलो पटक रु दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उनले बताइन् । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पुर्याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ”, उनले भनिन्, “चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको हाे ।”

हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको किसान पराजुलीले बताइन् । प्रतिकिलो रु छ सय का दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्रि भएको छ ।

“स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ”, उनले भनिन्, “कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ, सुरुमा आठ सय प्रतिकेजी बिक्री गरेको र अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।”

दुई कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी पनि हुन थालेको छ । अहिलेसम्म रु दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ ।

एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घर परिवारसगै एक जनालाई रोजगारसमेत दिएको पराजुली बताउँछिन् । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ ।

उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरवुजा, ड्रागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताइन् ।

ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शङ्कर पौडलले बताए ।