निरन्तर ओरालो लाग्यो शेयरबजार
काठमाडाैं, २० चैत्र । नेप्से परिसूचक निरन्तर ओरालो लागेकाे छ । नेप्से निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको हो।
यस दिन नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ इण्डेक्स १.०४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६० स्टकको २७ हजार ४५४ पटकको कारोबारमा ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको २८ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार नेप्सेमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य २१ रुपैयाँ ३० पैसा बढेर २३४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन प्रभु बैंकको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्र भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको करिब ३ करोडको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।
यस दिन व्यापार उपसमूहको परिसूचक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी, जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।