घट्याे इन्धनको मूल्य‚ अब पेट्रोल १७५ रूपैयाँ

काठमाडौं, २० चैत्र । नेपाल आयल निगमले पेट्रोल‚ डिजेललगायत इन्धनको मूल्य घटाएको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी)ले नयाँ मूल्यसूची अनुसार मूल्य घटाएर पठाएपछि केहीदिन लगाएर निगमले इन्धनको भाउ घटाउने निर्णय गरेको हो।

निगमले पेट्रोलमा ३ रूपैयाँ र डिजेल‚ मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर १० रूपैयाँ मूल्य घटाएकाे छ भने खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ।

भाउ घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रूपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रूपैयाँ कायम भएको छ।

शनिबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको थियो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको थियो ।