रोकिएन गिरावट, आजपनि ओरालो लाग्याे नेप्सेसहित काराेबार रकम

काठमाडाैं, २१ चैत्र । गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से यसदिनसम्म
निरन्तर ओरालो लागेकाे छ ।

मंगलबार नेप्से परिसूचक ५.२० अंक घटेर १८६६.६८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६४ स्टकको २३ हजार १७० पटकको कारोबारमा ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत अर्थात २३ रुपैयाँ ४० पैसा बढेर २५७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन सानिमा ग्रोथ फण्डको इकाईमूल्य करिब ९ प्रतिशत बढेको छ भने ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन पनि प्रभु बैंकको ऋणपत्र सर्वाधिक ९.२९ प्रतिशत घटेको छ। कारोबारमा आएकोे सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य यस दिन ८.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको छ।