नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाको खोजी

बाँके, २४ चैत्र । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।

वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।

उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ । अभियान प्रभावकारी बनाउन वडा–वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्ययोजना तयार गरिएको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) को सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि भइरहेको छ । हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सकिएको छ ।

नियमित खोप लगाउन छुटेकाको पहिचान र विश्लेषण गर्ने गरी कार्ययोजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ । कार्यशालामार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *