मौरीपालनमा पाल्पाका कृषक आकर्षित

पाल्पा, २४ चैत्र । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको हाे । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक प्रविधिबारे जानकारी दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउँछन् ।

“स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ”, उनले भने, “व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताका आधारमा सहयोग गरिरहेको छ, व्यावसायिक गर्ने किसान क्रमिकरुपमा बढिरहेका छन्।”

मौरी प्रवद्र्धनका लागि विगत वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यस वर्ष कृषकको क्षमता वृद्धिका लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताए।

प्रयोगात्मकरुपमा प्रविधिबारे जानकारी पाएपछि मौरीपालनमा धेरै सहज भएको कृषक टीकाराम पाठकले बताए । उनकाे घरमा हाल १६ वटा आधुनिक मौरीका घार छन् । एक घारबाट सुरु गरेका पाठकले घार बढाउँदै गएका हुन् ।

“मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायतका प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजनलगायतका प्रविधिमा व्यवसायी पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यावसायीकरणमा समस्या हुन्छ”, उनले भने ।

कृषकको माग र आवश्यकताका आधारमा हरेक वर्षजसो मौरीपालन प्रवद्र्धनका कार्यक्रम कार्यालयबाट भइरहेको र व्यावसायिकरुपमा गर्नेले यसबाट मनग्य कमाइ गरिरहेको कृषि ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए ।

प्रशस्त चरनको क्षेत्र, बगैँचा, घरका आँगन, बार्दली, बारीका कान्ला, डिलमा घार राखेर मौरीपालन गर्नेको रामपुर क्षेत्रमा आकर्षण बढ्दै गएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताए ।