सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्याे
काठमाडाैं, २७ चैत्र । साताको दोस्रो कारोबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ५.५४ अंक बढेर १८४४.०२ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८८ अंक बढेको ।
यस दिन नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन २६१ स्टकको ३५ हजार ५४९ पटकको कारोबारमा ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावर र कालिञ्चोक दर्शको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
सानिमा मिडिल तमोरको कारोबार यसै दिनदेखि मात्र कारोबारमा आएको हो। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। अन्य स्टकको शेयरमूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशत घटेको छ भने बलेफि हाइड्रोपावरको शेयरमूल्य ५.२५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।
जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७१ अंक बढेको छ। त्यस्तै, व्यापार उपसमूहको परिसूचक यस दिन १.३० प्रतिशत बढेको छ।