ढाकाको अडियोबारे छलफल गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक आज मंगलबार बस्ने भएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियो बारे छलफल गर्न पार्टी कार्यालय बसुन्धरामा आज बिहान ११ बजे बैठक बाेलाएकाे हाे ।

सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यससम्बन्धमा अनुसन्धान सुरु गरिसकेकाे छ।

ढाकाको दोस्रो अडियो पनि सार्वजनिक भएको छ। उक्त अडियो पनि कपुरबोट डट्कमले सार्वजनिक गरेको हो।

रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ भने आजकाे सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्नुपर्ने छ ।