गभर्नरको आत्मविश्वास– ‘सानोतिनो धक्काले नेपालका बैंकहरुमा जोखिम आउँदैन’

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सानोतिनो धक्काले जोखिम आउने अवस्था नहुने बताउनु भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालका बैंकहरू बलिया रहेको र सजिलै नढल्ने भन्दै सुरक्षित रहेको बताउनुभयो ।

‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ,’ उहाँले भन्नुभयो, ‘नेपाली बैंकको पुँजी पर्याप्तता अनुपात तोकिएको ११ प्रतिशतभन्दा धेरै रहेको रहेको छ । खराब कर्जा बढेको भएपनि चिन्ताजनक अवस्था नरहेको र बैंकहरूको खुद तरलता अनुपात २४ प्रतिशत रहेको अवस्था छ ।’

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताउनुभयो । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उहाँले जानकारी दिनुभयो । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पनि आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो ।

तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब ३२ करोड आएको छ । फागुनमा मात्रै रु एक खर्ब चार अर्ब बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म रु छ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।

चालु आवको आठ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५४ दशमवल तीन प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *