आयमूलक कार्यमा सक्रियहुँदै चिप्स उत्पादनमा रामपुरका महिला
पाल्पा २९ चैत । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् ।
पाल्पा रामपुरका महिलाहरूमा साँझ बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन अग्रसरता बढेकाे हाे
रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । रामपुर नगरपालिका–६ मा विजयपुर चिप्स उत्पादन लघुउद्यम व्यवसाय समूहमार्फत आलु चिप्स उत्पादन भइरहेको छ ।
बिमलादेवी ढकाल, गीता अधिकारी, बिमला गैरे, देवी अधिकारी, निर्मला पोखरेल, सरिता पोखरेलले समूहमा मिलेर चिप्स तयार पारिरहनुभएको छ । अहिले नयाँ आलु उत्पादन लिएपछि आलु चिप्स बनाउन भ्याइनभ्याइ रहेको समूहका अध्यक्ष बिमलादेवी ढकाल बताउनुहुन्छ ।
व्यावसायिक चिप्स उत्पादन गर्ने उद्योग रहेकाले यहाँ चिप्स उत्पादन प्रविधि अवलोकन गर्न तथा प्रविधि सिक्न, खरिद गर्न जाने गर्दछन् । यसले महिलाहरुमा व्यवसायमा उत्साह थपिएको छ ।
समूहले गत भदौदेखि चिप्स बनाउन थालेको हो । अहिलेसम्म छ क्विन्टलभन्दा बढी चिप्स तयार भएको छ ।
उत्पादन स्थानीय बजारमा खपत भइरहेको छ । स्थानीयमा बजार राम्रो लिएको हुँदा धेरै सहज भएको छ । उत्पादन बढाएर रामपुर बजार मात्र नभई अन्यत्र बजारमा पठाउने तयारी भइरहेको निर्मला पोखरेलले बताउनुभयो ।
दुई वर्षअघि यहाँका महिलाले रामपुर नगरपालिकामार्फत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम पाएपछि व्यावसायिक उत्पादन सुरु गरेका हुन् । ग्राहकको चाहनालाई दृष्टिगत गर्दै प्रति प्याकेट (साइजअनुसार) रु २०, ३०, ४० र ५० मा धमाधम बिक्री भइरहेको छ ।
व्यावसायिक उत्पादनका लागि चिप्सबाट धेरै फाइदा लिन सकिने विमला गैरेले बताउनुभयो । अहिलेलाई रामपुरका विभिन्न बजारका पसलका व्यापारीसँग समन्वय गरेर बिक्री भइरहेको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रममा साथमा लिएर महिलाहरुले चिप्स बिक्री गर्छन् ।
चिप्स बनाउन नगरपालिकाले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिनलगायत विभिन्न सामग्री सहयोग गरेको छ । नयाँ व्यवसाय भएकाले धेरैबाट प्राप्त साथ, सहयोग र हौसलाले महिलाहरु उत्साहित छन् ।