युरोपको रोजगारी त्यागेर मखना खेतीमा रमाउँदै कृष्ण : वार्षिक ५० लाख आम्दानीको लक्ष्य

मखना खेती

काठमाडौँ, कार्तिक २६ । विदेशमा रोजगारीका लागि जाने अवसर हुँदाहुँदै आफ्नै माटोमा केही गर्ने अठोट गरेका झापा कचनकवल गाउँपालिका ४ का ३६ वर्षीय कृष्ण भट्टराई अहिले मखना खेतीमा रमाइरहनुभएको छ । युरोप जाने तयारीमा रहेका उहाँले विदेशको रोजगारीभन्दा स्वदेशमै कृषि उद्यम गर्ने निर्णय गर्दै मखना खेती सुरु गर्नुभएको हो ।

कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्ने क्रममा मखनाखेतीका जानकार जाकिर हुसेनको सल्लाह पाएपछि भट्टराईले गत वर्षदेखि यसको व्यावसायिक खेती थाल्नुभएको थियो । पहिलो वर्षको अनुभव र सम्भावनाले उत्साहित बनाएपछि उहाँले यस वर्ष खेतीको क्षेत्रफल विस्तार गर्नुभएको छ । अहिले उहाँले आफ्नै तथा भाडामा लिएको जग्गासमेत गरी १३ बिघा १० कठ्ठा क्षेत्रफलमा मखनाखेती गर्नुभएको छ ।

भट्टराईले सगिता कृषि फार्म र जनजागृत युवा कृषि फार्म दर्ता गरी व्यवस्थित रूपमा खेती सञ्चालन गर्नुभएको छ । उहाँका अनुसार एक बिघा जमिनमा मखनाको बीउ लगाउन १० देखि १२ क्विन्टलसम्म आवश्यक पर्छ । खेतीका लागि भाडामा लिइएको जमिनको भाडा प्रतिबिघा २५ मन धान बराबर तिर्ने गरिएको छ ।

यस वर्ष खेतीबाट १०० क्विन्टलभन्दा बढी बीउ उत्पादन हुने उहाँको अनुमान छ । प्रशोधनपछि तीन हजार किलोग्रामभन्दा बढी खान योग्य मखाना उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रशोधित मखाना प्रति किलोग्राम एक हजार ८०० रुपियाँ सम्ममा बिक्री हुने भएकाले यस वर्ष ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने उहाँको अपेक्षा छ ।

मखनाको बीउ उत्पादन गरेपछि त्यसलाई प्रशोधन नगरी कच्चा पदार्थकै रूपमा भारतीय व्यापारीलाई सस्तो मूल्यमा बेच्नुपर्ने अवस्था अन्त्य गर्न भट्टराईले आफ्नै प्रशोधन केन्द्रसमेत निर्माण गर्नुभएको छ । यसले उत्पादनको मूल्य अभिवृद्धि गर्नुका साथै बजारमा प्रत्यक्ष पहुँच स्थापित गर्न सहयोग पुगेको उहाँको भनाइ छ । प्रशोधनका लागि आवश्यक सीप भएका कामदार बाहिरबाट ल्याइएको छ भने खेती तथा बीउ सङ्कलनका काममा स्थानीयवासीलाई पनि रोजगारी दिइएको छ ।

उहाँको उत्पादन खरिद गर्न काठमाडौँ, धनगढी, विराटनगरलगायतका सहरबाट व्यापारी तथा ग्राहक आउने गरेका छन् । यसले मखनाको बजार विस्तार हुँदै गएको सङ्केत गरेको छ । स्थानीय बजारमा मात्र निर्भर नभई देशका विभिन्न सहरसम्म उत्पादन पुर्‍याउन सकिने सम्भावनाले पनि उहाँलाई व्यावसायिक खेती विस्तार गर्न प्रेरित गरेको छ ।

कचनकवल क्षेत्रमा पछिल्लो समय मखनाखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँपालिकामा करिब २०० बिघा क्षेत्रफलमा मखनाखेती भइरहेको छ । गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार धानखेतीको तुलनामा मखनाबाट बढी आम्दानी हुने सम्भावना देखिएपछि स्थानीय किसान यसतर्फ आकर्षित भएका हुन् ।

मखाना पौष्टिक खाद्य पदार्थका रूपमा पनि परिचित छ । यसमा प्रोटिन, रेसा, पोटासियम र म्याग्नेसियमजस्ता पोषक तत्त्व पाइन्छन् । खाद्य बजारमा यसको माग र व्यावसायिक सम्भावना बढ्दै जाँदा झापाका किसानका लागि यो वैकल्पिक नगदे बालीका रूपमा विकास हुन थालेको छ ।

युरोप जाने अवसर छाडेर माटोमै सम्भावना खोज्नुभएका भट्टराईको प्रयासले मखना खेतीलाई व्यावसायिक उद्यमका रूपमा अघि बढाउन सकिने देखाएको छ । आफ्नै जमिन, स्थानीय श्रम र प्रशोधन प्रविधिको उपयोग गर्दै उहाँले कृषि पेसाबाटै आर्थिक आत्मनिर्भर बन्ने लक्ष्य लिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *