ब्याजदर घटाउने निर्णयसँगै नेप्सेमा उछाल, एकै दिन बढ्याे ९२ अंक
काठमाडाैं, २९ । बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनादेखि ब्याजदर घटाउने निर्णय गरेसँगै नेप्सेमा उछाल आएकाे छ । पछिल्ला दिनहरुमा सुस्त रहेको बजारमा यस दिन भने उत्साह देखिएकाे हाे । शेयर बजार ब्याजदर बढ्दा बजार ओरालो लाग्ने गर्दछ भने ब्याजदर घट्दा बजार बढ्ने गर्दछ।
बुधबार नेप्से परिसूचक ९२.२२ अंक बढेर १९६३.५५ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १८.७५ अंक बढेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २६७ स्टकको ४७ हजार २८५ पटकको कारोबारमा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको ६१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यसदिन नेप्से उच्च दरमा बढेसँगै ७ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन अन्य ९ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ३ ऋणपत्रको मूल्य घटेको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रशित बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त, बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।