नयाँसालकाे पहिलो कारोबार सामान्य घट्याे नेप्से
काठमाडाैं, ३ वैशाख । नयाँसालकाे पहिलो कारोबारमा नेप्से परिसूचक सामान्य घटेकाे छ । गत बिहीबार, २९ अंक घटेर बन्द भएको नेप्से यस दिन सामान्य घटेकाे हो।
यसदिन नेप्से २.८० अंक घटेर १९३१.६८ विन्दुमा पुगेकाे छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२६ अंक घटेको छ ।
नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६५ स्टकको ३३ हजार १४९ पटकको कारोबारमा ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको ३० लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आदर्श लघुवित्त, मोलुङ्ग हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको एशियन हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ। त्यसैगरी, सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस दिन सो होटलको ३ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआईसी एशिया बैंकको ३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।