सुरक्षण मुद्रण केन्द्रका कर्मचारी विरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा
काठमाडाैं, ३ वैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेलसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड बिगो माग गर्दै उनीहरूविरूद्ध विशेष अदालतमा मुद्दा हालिएको हो।
अख्तियारका प्रवक्ता भोला दाहालले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का दिएको अभियोगमा मुद्दा दायर गरिएकाे जनाएकाे छ ।
अख्तियारका अनुसार सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भए भन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको आरोप छ ।
त्यस्तै अख्तियारले खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रिम रुपमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिस्टम खरिदबाट सरकारको सम्पत्ति गैरकानुनी रुपमा हिनामिना गरेको बताएकाे छ ।
अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड, मेकानिकलतर्फका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेसंग ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेशप्रसाद पोखरेलसंग २० करोड, शाखा अधिकृत मनिकमान महर्जनसंग ३ करोड ४४ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ ।
त्यस्तै लेखा अधिकृत रामबहादुर बुढासंग १९ करोड ८८ लाख, शाखा अधिकृत शिरिष उपाध्याय संग ४० करोड इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधानसंग २३ करोड ४४ लाख मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनसंग ४३ करोड ५७ लाख र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौसंग ८ करोड ६९ लाख बिगाे दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।