कास्कीकाे हेम्जामा आलु महोत्सव, रु पाँच करोडको आलु बिक्री
कास्की, ४ वैशाख । आलु गाउँको नामले परिचित हेम्जा आलु महोत्सवमा रु पाँच करोड बराबरको आलु कारोबार गर्दै सम्पन्न भएको छ ।
गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेम्जा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो ।
हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयो ।
आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको छ । सो अवसरमा शाखाले किसान परिचयपत्र पनि वितरण गरिएको थियो ।
महोत्सवमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले सराहनीय कार्य गरेको चर्चा गर्नुहुँदै आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले एक वडा एक उत्पादन गर्ने उद्देश्यका साथ महानगर अगाडि बढिरहेको जनाउँदै कृषिलाई आयआर्जनसँग जोडे मात्रै समृद्धि हासिल हुनसक्ने पनि औँल्याउनुभयो । क्लबको बुहुउद्देश्यीय भवन निर्माणमा पनि महानगर सहयोग गर्न तत्पर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
पोखरा–२५ हेम्जा का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देश विदेशमा हुने गरेकोमा खुसी व्यक्त गर्दै योसँगै हेमजाको इज्जत बढेको स्पष्ट पार्नुभयो । प्रवक्ता तिम्सिनाले महोत्सवमा महानगरको कृषि महाशाखाको भूमिका प्रशंसनीय रहेको पनि जनाउनुभयो ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घट्दै जानु दुःखद् भएको औँल्याउनुभयो ।
त्यस अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, विष्णुपादुका माविका अध्यक्ष कृष्ण नेपाली, महिला सञ्जाल हेमजा अध्यक्ष रमा त्रिपाठी, मानव सेवा आश्रमका अभियान्ता मदन थापा, कृषि सञ्जालका अध्यक्ष राजेन्द्र कार्कीलगायतले पनि धारणा राख्नुभयो ।
महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोट बिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषिउपज, बीउविजन तथा अन्य कृषियन्त्रको प्रदर्शनीलगायतका कार्यक्रम गरिएको थियाे ।