कारोबार रकमसंगै निरन्तर घट्याे नेप्से

काठमाडाैं, ४ वैशाख । सोमबार नेप्से परिसूचक घटेर बन्द भएकाे छ । नेप्सेसंगै कारोबार रकम पनि घटेकाे छ ।

यस दिन नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको हाे । त्यसैगरी यस दिन सेन्सेटिभ इण्डेक्स ४.७८ अंक घटेको छ ।

यस दिन २६७ स्टकको २७ हजार ३७४ पटकको कारोबारमा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको ३१ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।नेप्से घटेपनि यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधक ६.२५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ७ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।