नौ महिनाकाे अवधिमा रु १४ अर्ब नाफा विदेशियो
काठमाडाैं, ४ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा लाभाशंवापतकाे करिब रु साढे १४ अर्ब विदेशिएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो ।
विभागले यस अवधिमा लाभाशंवापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ ।
विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि रु ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ लगानी प्रतिबद्धता आएको छ ।
विभागको तथ्याङ्क अनुसार हालसम्म रु चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।
