मौसमको प्रतिकूलताका कारण यस वर्ष दाङमा मह उत्पादनमा कमी

दाङ, ५ वैशाख । दाङमा यस वर्ष मह उत्पादन घटेको छ । मौसम प्रतिकूलताकाे असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो ।

यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।

पछिल्ला वर्षमा वायु प्रदूषण र जथाभावी बोटबिरुवा मासिँदै जाँदा त्यसको असर मह उत्पादनमा देखिएकोघोराही उपमहानगरपालिका–१६ सर्रामा २०६१ सालदेखि नियमित रुपमा मौरीपालन गर्दै आउनुभएका दाङ हनी प्रोडक्सनका रामहरि शर्माले बताउनुभयो ।

“पछिल्ला वर्षहरुमा प्लटिङ बढेको, फूल फुल्ने रूख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त स्रोत पुर्याउन मौरीमय बिरुवा रोपणमा ध्यान दिनुपर्ने बेला भएको छ ।

मौरीपालनका लागि सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुको स्रोतको विकास हुनुपर्छ ।” दाङको घोराही क्षेत्रमा चिउरीको पुष्परस र तुलसीपुर क्षेत्रबाट तोरीको पुष्परसबाट मह उत्पादन धेरै हुने गरेको उहाँको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको सङ्ख्यामा कमी नआएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरीपालक किसान मारमा परेको २० वर्षदेखि मौरीपालन गर्दै आउनुभएका तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका चेतमान भण्डारीको भनाइ छ ।

मौरीपालनमा लाग्ने खर्चको अनुपातमा लगानी उठाउन निकै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । मौरीपालक किसानका समस्याका बारेमा राज्य गम्भीर हुन नसकेको किसानको दुखेसो छ ।

दाङमा उत्पादित शुद्ध मह कृषकका घरमा थन्किएको छ । बजारमा अनधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेपछि स्थानीय महले बजार पाउन समस्या भएको छ । यसै पनि गुणस्तर नचिनेर मह खाने परिपाटीले शुद्ध मह बिक्रीमा समस्या छ ।

यो पटक असोजको पानीले चिउरी फुलेन । चैतको पानीले सिसौको फूल बिगार्यो । हिउँदमा पानी परेन । गोभी तोरी भएन । ६ महिना जिल्लाबाहिर चरनका लागि लैजानुपर्ने बाध्यता भोग्दै आएका किसानमध्ये एक सय ५० माहुरीपालक महासङ्घ दाङमा आबद्ध छन् भने १५ हजार बढी घार मौरी छन् । गत वर्षकै १० टन बिक्री गर्न नसकेका किसानको यो वर्ष पनि सय टन बढी मह मौज्दात छ ।