चौथो दिनपनि निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडाैं, ५ वैशाख । नेप्से परिसूचक मंगलबार अर्थात चौथो कारोबार दिन पनि निरन्तर ओरालो लागेको छ।

यस दिन नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ विन्दुमा झरेको छ। त्यस्तै यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ। यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६६ स्टकको २४ हजार ३४९ पटकको कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ।

मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, यस दिन सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ। यस दिन कारोबारमा आएको खप्तड लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.०५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस दिन प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स र नेष्डो समृद्ध लघुवित्तको यस दिन ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।