आठ रात नाै दिन मनाइने बिस्का: जात्रा विधिवतरूपमा सम्पन्न

भक्तपुर,६ वैशाख । भक्तपुरकाे ऐतिहासिक बिस्का जात्रा सम्पन्न भएकाे छ ।

आठ रात नाै दिन सम्म मनाइने उक्त बिस्का: जात्रा गत चैत २७ गते टौमढीबाट भैरवको रथ तानेर सुरू गरेर मंगलबार विधिवतरूपमा सम्पन्न भएकाे हाे ।

आफ्नै संस्कृति र माैलिकता बाेकेकाे बिस्का: जात्राकाे मंगलबार बेलुका सम्पूर्ण पूजा सम्पन्न भएपछि गःहिटीबाट पुनः भैरवको रथ तानेर टौमढी ल्याई देवतालाई देवगृहमा पुर्याएर जात्रा सम्पन्न गरिएकाे छ ।

काठैकाठबाट निर्माण गरिएकाे प्यागोडा शैलीकाे तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने गर्दछन् । रथ तान्ने क्रममा क्वने (तल्लो) टोल र थने (माथिल्लो) टोलको मानिसहरूले तान्ने परम्परा छ।

क्वने (तल्लो) टोल भनेकाे टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु हाे भने थने (माथिल्लो) टोल भनेको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रय हाे ।

रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ । रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ।

जात्रालुले सोही डोरीको सहायताबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्छन्। जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथलाई तानेर तल्लो वा माथिल्लो टोल जस्काे शक्ति हुन्छ त्यतै रथ तानेर लगिने गरिन्छ । जस्काे टाेलमा रथ पुग्याे त्यस टोलको विजय भएको मानिन्छ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोल र थने (माथिल्लो) टाेलकाे टाेलटाेलमा रथ तानेर पुनः गःहिटीमा पुर्‍याइ जात्रा सम्पन्न गरिन्छ। रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता पनि रहिआएकाे छ।

जात्राको दोस्रो दिन शून्य भनिन्छ। यस दिन रथ तान्ने काम हुँदैन ।

तेस्रो दिन गःहिटीमा पुर्याइएकाे भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ।

चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) यसीं उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो यसीं उभ्याइन्छ।

वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते यसीं ढालिन्छ। यसीं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ। ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्‍याइ एकाआपसमा जुधाइन्छ।

जात्राकाे छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ ।

सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ।

जात्राकाे आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ। जसलाई स्थानीय भाषामा द्यःसगं वियगु जात्रा भनिन्छ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तै जात्रालुहरूले थने र क्वने टोलमा तानातान गरी रथलाई टौमढीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *