बेनी–जोमसोम सडक मर्मतमा इन्धन अभाव

म्याग्दी, १७ असोज । गत साताको बाढीपहिरोले अवरुद्ध चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मतमा इन्धन अभाव मुख्य चुनौती बनेको छ।

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले पर्वतको मालढुङ्गादेखि म्याग्दीको घाँसासम्म करिब ५० किलोमिटर सडकखण्डमा ४६ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो।

मुस्ताङतर्फबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ्ग तातोपानी तथा पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाटसम्मको सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान्ट्री टावर’ हटाउन भएको ढिलाइ तथा मौज्दात इन्धन सकिएपछि सडक मर्मतमा थप चुनौती देखिएको हो।

“तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर र टिप्पर चलाउन डिजेलको अभाव भएको छ,” प्रमुख शर्माले भन्नुभयो, “तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक निर्माणको काम प्रभावित बनेको छ।”

सडक आयोजनाले मुस्ताङतर्फबाट इन्धन ढुवानीका लागि अन्तरजिल्ला समन्वय गरिरहेको जनाएको छ। टावर हटाउने विषयमा राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल भइरहेको छ।

रघुगङ्गा गाउँपालिकाले पिप्ले–भगवती–बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना सवारी सञ्चालन तथा इन्धन ढुवानी सहज बनाउन काम गरिरहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार बाढीपहिरो प्रभावित सडकको निरीक्षण गरी मर्मतका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आयोजनाको तहबाट मात्र निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति आवश्यक रहेको बताउनुभयो। उहाँले आवश्यक प्रक्रिया नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

बाढीले तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहबाट पानी निकासका लागि बनाइएको ‘टेलरेस डक्ट’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा समेत क्षति पुर्‍याएको छ।

त्यस्तै, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान भएको छ भने पोखरेबगरस्थित सडक पुलको पहुँचमार्गसमेत बाढीले बगाएको छ।

रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि प्रमुख विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्कसमेत सडक अवरुद्ध भएपछि प्रभावित भएको छ। मुख्य पर्यटकीय याम चलिरहेका बेला सडक अवरुद्ध हुँदा पर्यटन गतिविधिसमेत प्रभावित भएकाले बेनी–जोमसोम–कोरला सडक खुलाउन सरकारले प्राथमिकता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *