एनपिएलको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा

नेपाल प्रिमियर लिग (एनपिएल)

काठमाडौँ, असोज २१ ।  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुन करिब तीन साता बाँकी रहँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता नजिकिँदै गएसँगै मैदानमा आवश्यक पूर्वाधार निर्माण, दर्शक व्यवस्थापन तथा अन्य तयारीका कामलाई तीव्रता दिइएको छ । प्रतियोगिताको हरेक संस्करण थप बृहत् बन्दै गएकाले यसपटक दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा सहज र व्यवस्थित वातावरण उपलब्ध गराउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

“तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगिता जति ठूलो हुँदै गएको छ, हाम्रो जिम्मेवारी पनि त्यति नै बढेको छ,” सचिव खड्काले भन्नुभयो, “दसैँसम्म सबै काम सम्पन्न गरेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने योजना छ ।”

गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थप गरिँदैछ । एनपिएलका खेलमा दर्शकको चाप उच्च हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गरी दर्शक क्षमता बढाउने तयारी गरिएको क्यानले जनाएको छ । मैदान परिसरमा थप दर्शक अटाउन सकिने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको सचिव खड्काले जानकारी दिनुभयो ।

यसैगरी, मैदान प्रवेश गर्ने मार्ग तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको काम अघि बढाइएको छ । टिकट लिएर मैदान पुगेका दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ ।

गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्तता तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नुपरेको थियो । यसपटक त्यस्ता समस्या दोहोरिन नदिन पूर्वतयारीमा विशेष ध्यान दिइएको सचिव खड्काले बताउनुभयो ।

दसैँ–तिहारबीच एनपिएल

दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थितिमा असर पर्न सक्ने आकलन भए पनि क्यानले नेपाली क्रिकेटको बलियो समर्थक आधारका कारण प्रतियोगितामा दर्शकको उत्साहमा कमी नआउने विश्वास व्यक्त गरेको छ ।

सचिव खड्काका अनुसार एनपिएलको मिति निर्धारण गर्दा अन्तर्राष्ट्रिय क्रिकेटको तालिका, अन्य फ्रेन्चाइज लिग तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । ती सबै पक्षलाई विचार गर्दा यस वर्ष दसैँतिहारको बीचको समय प्रतियोगिता आयोजना गर्न उपयुक्त देखिएको उहाँले बताउनुभयो ।

तेस्रो संस्करणका लागि सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रम पनि तीव्र पारेका छन् । विदेशी खेलाडीको सहभागिताले एनपिएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ । टेलिभिजन तथा अन्य माध्यमबाट हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म आकर्षित गर्ने सचिव खड्काले बताउनुभयो ।

“यसपालि हरेक टोलीले ठूला अन्तर्राष्ट्रिय खेलाडी ल्याइरहेका छन् । टेलिभिजनमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष हेर्न सकिने अवस्था बनेको छ,” उहाँले भन्नुभयो ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *