राहुल गान्धीलाई ठूलो झड्का, सुरत अदालतबाट पुनरावेदन खारेज
काठमाडौंं, ७ वैशाख । कांग्रेस नेता राहुल गान्धीलाई ठूलो झड्का लागेको छ । सूरतको एक अदालतले मानहानी मुद्दामा दोषी ठहराउनका लागि गान्धीको निवेदन खारेज गरिदिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार राहुल गान्धीले २०१९ को लोकसभा चुनावको दौरान कर्नाटकको एक सभामा ‘मोदी उपनाम’ मा भाषण गर्नुभएको थियो । उहाँले त्यो भाषणमा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएपछि विवादित हुनुभएको थियो ।
उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हाल्नु भएको थियो। २३ मार्च २०२३ मा सुरतको तल्लो अदालतले राहुललाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको थियो। अदालतको यो निर्णयलाई राहुलले सुरत अदालतमा पुनरावेदन दिनुभएको थियो । सुरत अदालतले राहुलको निवेदन खारेज गरिदिएपछि उहाँलाई झड्का लागेको हो ।
