पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’
सिरहा, १० वैशाख । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै रहेकाे हात्तीदह सिमसार क्षेत्र आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो ।
कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्र करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो ।
त्यसैगरी बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यानको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन् ।
कोइरालोखोला सामुदयिक वन तथा हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले एक वर्षअघिमात्र पर्यटकीय क्षेत्रका रूपमा औपचारिक घोषणा भएता पनि छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार आजभोलि शनिबार तथा सार्वजनिक बिदाको दिनबाहेक दैनिक दुई सयदेखि तीन सयसम्म पर्यटक आउने गरेका छन् ।
पर्यटक आगमनलाई थप आकर्षित बनाउन वन तथा भू–संरक्षण विभाग बबरमहल, काठमाडौँबाट अनुमति लिई केही वन्यजन्तुको समेत संरक्षण गरी उद्यानभित्र राखिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पार्कभित्र संरक्षित वन्यजन्तुमा जङ्गली कालो भालु, चरीबाघ, दुम्सी, खरायोलगायत रहेका छन्, यसको सजिलै अवलोकन गर्न सकिने छ ।
त्यसैगरी यस सिमसार क्षेत्रलाई आकर्षण थप्न उद्यानभित्र फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन निर्माण गर्नुका साथै पर्यटकका लागि पोखरीमा माछा हेर्दै बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको यस हात्तीदह सिमसार क्षेत्र अवलोकन तथा वनभोज कार्यक्रमका लागि जिल्लाका सर्वसाधारणमात्र नभएर छिमेकी जिल्ला उदयपुर, सप्तरी, धनुषालगायत देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सञ्चालक समितिका सचिव बद्री सदायले बताउनुभयो । उहाँका अनुसार नयाँ वर्ष तथा चाडपर्वका बेला छिमेकी राष्ट्र भारतबाट समेत पर्यटककोे घुइँचो लाग्ने गरेको छ ।
चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि यस ठाउँको विकासमा स्थानीय सरकारको चासो पनि बढेर गएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले हात्तीदह सिमसार पर्यटन क्षेत्रको विकासमा उच्च प्राथमिकतादिएको बताउनुभयो ।
नगरप्रमुख चौधरीका अनुसार राजमार्गबाट हात्तीदह सिमसारसम्मको ग्राभेल बाटोको स्तरोन्नति तथा कालोपत्र गर्नका लागि नगरबाट बजेट व्यवस्था गरी निर्माण सुरुआत भएको पनि जानकारी दिनुभयो ।
हात्तीदह सिमसार पर्यटकीय क्षेत्रका रूपमा विस्तार भएपछि रोजगारीको सिर्जना एवं यस वरिपरि व्यापार तथा व्यवसाय पनि वृद्धि भएको छ । आफ्नो व्यापार व्यवसायबाट मनग्गे आम्दानी भइरहेको स्थानीय व्यापारी पोषण सदायले बताउनुभयो ।