आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम

काठमाडौँ,  कात्तिक २१ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको थियो । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लागेको थियो भने बाँकी पहाडी तथा तराईका भूभागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै देशका अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ । रातिको समयमा कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *